मन्थली विमानस्थलमा पानी पस्यो

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । 

मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान स्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । 

“निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।”

एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उहाँले बताउनुभयो । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ । 

अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या दुई लाख ९७ हजार ३४१ रहेको छ । निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ । 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मङ्सिरयता दुई पटक नामावली सङ्कलनको कार्य गरेको थियो ।रासस

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १० : १० बजे