हाम्रो वरिपरिको वातावरण बुझ्न र आफू अनुकूल बनाउन, हाम्रो आफ्नै मस्तिष्कलाई झन् परिष्कृत पार्न र उपयुक्त निर्णय प्रक्रियाबाट समस्या समाधान गर्न विज्ञानको आवश्यकता पर्दछ । प्रविधिले भने विज्ञानको प्रयोग गरी नयाँ उपाय वा उपकरणको विकास गर्दै समस्या समाधान गर्ने कार्य गर्दछ । विज्ञान तथा प्रविधिका आ–आफ्नै लक्ष्य भए तापनि यी दुई एक–आपसमा परिपूरक छन् र एउटाको विकासले अर्कोको विकासमा सोझो असर पार्दछ । विज्ञानको लक्ष्य नयाँ ज्ञानको सिर्जना गर्नु हो भने प्रविधिले भने ज्ञानको प्रयोग गर्ने लक्ष्य लिएको हुन्छ ।
वैज्ञानिक चिन्तनको सुरुआत करिब २५ सय वर्ष अघिदेखि ग्रीसबाट भएको हो । त्यही बेलादेखि विज्ञान कुनै बेला धर्मको तथा कुनै बेला समृद्धिको आधारको रूपमा अघि बढ्न थाल्यो (रुनी, २०१७) । समृद्ध समाज विकास गर्ने सन्दर्भमा विज्ञान तथा प्रविधिको मुख्य उद्देश्य नै मानवीय जीवनलाई सरल र सहज बनाउनु हो । विशिष्ट मस्तिष्क भएका कारण समग्र प्रकृतिकै भरण पोषण र सुरक्षाका निम्ति मानिसको विशेष भूमिका रहने गर्छ । प्रकृतिको प्रयोग गरी आफू अनुकूल वातावरण सिर्जना गर्ने काममा विज्ञान तथा प्रविधिको भूमिका महत्त्वपूर्ण रहने गर्छ । बढ्दो जनसङ्ख्याको निम्ति खाद्यान्न आपूर्ति, स्वस्थ समाजका निम्ति स्तरीय औषधोपचार तथा पर्याप्त ऊर्जाका निम्ति वैकल्पिक व्यवस्था आदिको विकास विज्ञान तथा प्रविधिविना सम्भव हुन सक्दैन ।
इन्नोभेसन
आफूले सोचेका विचार वा उपायलाई बस्तु वा सेवाका रूपमा प्रस्फुटन गर्नु इन्नोभेसन हो । मानवीय आवश्यकता तथा आंकाक्षाहरु परिपूर्ति गर्ने सन्दर्भमा विचार तथा कल्पनालाई उपयोगी बस्तु वा सेवाका रूपमा विकास गर्नु नै इन्नोभेसन हो । सेवालाई फरक ढङ्गबाट प्रस्तुत गरी बहुउपयोगी बनाउने काम पनि इन्नोभेसन नै हो । इन्नोभेसनको प्रयोग गरी समृद्धि हासिल गर्नेतर्फ हामीले विशेष जोड दिने बेला आएको छ ।
विश्वव्यापी विज्ञान तथा प्रविधिमा आएको उपलब्धिलाई हाम्रो परिप्रेक्ष्यमा ढाल्नेतर्फ ध्यान दिनु जरुरी छ । सबै कुरा फेरि शून्यबाट सोच्नु आवश्यक छैन । भएकै कुरालाई हेक्का गरौँ, त्यसले हाम्रो समृद्धिमा कस्तो भूमिका खेल्न सक्छ, विचार गरौँ र हाम्रो सन्दर्भमा प्रयोग गरेर हेरौँ । एउटा गाउँ वा जिल्लामा भएका सफल कार्यहरूलाई अन्यत्र विस्तारित गरौँ ।
यस्ता कार्यहरूबाट ठुलो सङ्ख्यामा नयाँ रोजगारी सिर्जना गर्न सकिने मात्र होइन, आफ्ना समस्याहरू आफै समाधान गरी विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोच राख्न सक्ने जमातको विकास हुन्छ । यो जमात सकारात्मक सोच राख्ने जमात हुन्छ, जसले हरेक समस्याको समाधान आफै खोज्नु पर्छ भन्ने मान्यता राख्छ । इन्नोभेसनलाई विज्ञान तथा प्रविधिको एक अभिन्न अङ्गका रूपमा हेरिनु पर्छ । यी दुवै कुरा एक अर्काका परिपूरक हुन्, एउटाको विकासले अर्कोलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
विद्यमान गरिबी, दरिद्रता र पछौटेपन पछाडिको मूल कारण हामीले विज्ञान – प्रविधि तथा इन्नोभेसनमा ध्यान नदिनुले हो । हरेक नेताहरूले यसबारे बोलेकै छन्, बुद्धिजीवीहरूले यसबारे प्रवचन दिन जानेका छन् तर पनि हाम्रो यथार्थ अत्यन्तै लज्जास्पद छ । भनाइ र गराइमा यहाँ ठुलो अन्तर छ । राज्यले यसबारेमा ध्यान दिए नदिएको कुरा यसको विकासमा सरकारले छुट्याएको न्यून बजेटबाट नै पुष्टि हुन्छ ।
एक्काइसौँ शताब्दी विज्ञान– प्रविधि तथा इन्नोभेसनको शताब्दी हो, त्यसैले यसको विरोधमा बोल्न कसैले साहस गर्दैन । तर यसको समुचित प्रयोग गरी समृद्धि हासिल गर्ने सन्दर्भमा भने भाषण र प्रतिवेदनमा मात्र सीमित छ । यो अवस्थालाई चिर्दै समृद्ध नेपालको निर्माणका लागि विज्ञान–प्रविधि तथा इन्नोभेसनको अवस्था, सम्भाव्यता तथा रणनीतिबारे चिन्तन गर्नु आवश्यक छ ।
विकासको आरोह अवरोह
धेरै देशहरूले आफ्नो प्रगति र अवसानका चरणहरू अनुभूति गरिसकेका छन् भने कतिपय यो बाटोमा अग्रसर छन् । विज्ञान–प्रविधिको उपयुक्त प्रयोग गर्ने देशहरू समृद्ध भएका छन् भने त्यसको अभावमा वा दुरुपयोग गर्दा कतिपय देशहरूको अवस्था अत्यन्त कमजोर बन्न पुगेको छ ।
अमेरिका आज कसरी यति विकसित भयो ? यसको मुख्य कारण उसले विज्ञानमा विशेष ध्यान दिएकाले हो । प्रविधि र इन्नोभेसनमा उसको विशेष लगावले हो । अरू विकसित राष्ट्र«हरूले पनि यही बाटो पछ्याएका हुन् । विगत केही समय यता अमेरिकी राजनीतिक वृत्तबाट वातावरण विज्ञानको महत्त्वबारे कम ध्यान दिन थालिएको छ । निर्णय गर्ने जिम्मा पाएका व्यक्तिहरूमा के ठिक र के बेठीक भन्ने छुट्याउने क्षमतामा ह्रास आइरहेको छ ।
ट्रम्प सरकारले हावापानी परिवर्तन र यसको असरबारे नकारात्मक टिप्पणी दिनु र वैज्ञानिक मान्यता विपरीत जानुले अमेरिकी राजनीतिको कमजोर अवस्था झल्काउँछ । अझै पनि अमेरिकाको ठुलो जनसमूह धार्मिक रूपमा अन्धविश्वासी छ । वैज्ञानिक निर्णय प्रक्रियामा यस्ता व्यक्तिहरू हाबी हुन गए भने अबको अमेरिका कस्तो होला ? अमेरिकाले आफ्नो विश्वव्यापी वर्चस्व गुमाउन खोजेको त होइन ? निल टाइसन भन्छन्, विज्ञानले सत्य तथ्य खोज्छ, धेरै पटक परीक्षण गरेर हेर्छ, धेरैले त्यसमाथि अध्ययन गर्छ, सही भए–नभएको पुष्ट्याइँ गर्छ अनि मात्र वास्तविक सत्यता बाहिर ल्याउँछ ।
यसरी आउने सत्यको खिलाफ जानु भनेको प्रजातन्त्रलाई नै कमजोर बनाउन खोज्नु हो भन्ने उनको तर्क छ । कुनै पनि व्यक्ति वा देश लामो समयसम्म उचाइमा रहिरहन सक्दैन । निश्चित रूपमा ऊ पनि तल झर्नै पर्छ । विगतमा भएका ठुलठुला सभ्यताहरू यसै कारणले हराएर गए । कुनै बेला चीन सबैभन्दा समृद्ध राष्ट्र थियो तर उसको अस्तित्व पनि हराएर गयो । अब ऊ पुनः आफ्नो पुरानो विरासत फर्काउन खोज्दै छ । कुल गार्हस्थ्य उत्पादनमा धेरै देशलाई पछि पारेर ऊ संसारकै दोस्रो शक्तिशाली राष्ट्र बन्ने अभियानमा लागेको छ । भारत उसको पछिपछि लागेको छ । भारतको पुरानो वैज्ञानिक विरासतलाई कम आँक्न सकिन्न । यसो हुनुको मूल कारणमा विगत केही दशकयता यी दुवै राष्ट्रहरूले विज्ञान तथा प्रविधिमा जोड दिनुले हो । केही दशक अघिसम्म भोकमरीसँग जुझ्ने यी राष्ट्रहरू अहिले मङ्गल ग्रहको अन्वेषण कार्यमा समेत सामेल भएका छन् ।
अरूबाट सिकौँ
चीन र भारतका औद्योगिक प्रतिष्ठान घुम्दा मैले एउटा अनौठो संयोग पाएँ । हैदराबादको एउटा ठुलो औद्योगिक परिसरको खालि जमिनमा केही उपकरणहरू छरिएर रहेको अवस्थामा देखेँ । त्यस्तै अवस्था उहान (चीन) को एक प्रतिष्ठित उद्योग अगाडि पनि पाएँ । यसो गर्नुको पछाडि युरोप तथा अमेरिकामा बनेका केही उपकरणहरूको गहन अध्ययन गरी त्यसको सिको गर्नु रहेछ ।
यी दुवै देशको औद्योगिक विकासमा यस खालको अभ्यासको ठुलो भूमिका छ । कुनै पनि काम गर्दा शून्यबाट सोच्नुपर्छ भन्ने मान्यता अहिले राखिँदैन । भएकै कुरालाई नयाँ ढङ्गले नयाँ कामका लागि प्रयोग गर्न सकिन्छ । यो पनि इन्नोभेसनको एउटा उपाय हो । महावीर पुनले सुरु गरेको आविष्कार केन्द्रले अन्यत्र भएका आविष्कारहरूलाई नेपालीपन दिन खोजेको छ । यो कार्यलाई पनि सराहनीय मान्नुपर्छ, किनकि यसो गर्दा स्थानीय स्तरमा स्थानीय क्षेत्रलाई सुहाउँदो प्रविधिको विकास कम मूल्यमा गर्न सकिन्छ । उनले ड्रोनको नेपाली रूप विकास गरी दूर– दराजमा औषधि पुर्याउने कामको सफल परीक्षण गरेका छन् । उनको यो अभियानमा हामी सबैको सहयोगको खाँचो छ । राज्यले विज्ञान–प्रविधि तथा इन्नोभेसनमा खासै ध्यान नदिएको अवस्थामा सानै भए पनि उनको यो कार्यले भविष्यमा ठुलो प्रभाव पार्न सक्ने छ ।
समृद्धिको यात्रामा विज्ञान तथा प्रविधिलाई पुँजी निर्माणमा लगाउनु पर्दछ । विद्यमान प्राकृतिक तथा मानवीय स्रोतसँगै विज्ञान तथा प्रविधिलाई जोडी नयाँ सम्भावनाहरूको खोजी गर्न सकिन्छ । विगत केही दशक यता नेपालमा सहकारी क्षेत्रको राम्रो विकास भएको छ । सहकारीले केवल ऋण दिने अनि ब्याजका रूपमा धन कमाउने मात्र होइन, आफ्ना सदस्यहरूलाई इन्नोभेसनतर्फ डोर्याउनुपर्छ । घर खर्च चलाउन मात्र ऋण लिने होइन, समूहगत रूपमा स्थानीय स्तरमा आवश्यक वस्तु निर्माणका लागि अग्रसर हुनु पर्दछ । यस कामको थालनी हामी स–साना उपकरण वा यन्त्रको प्रयोगबाट गर्न सक्छौँ । छिमेकी राष्ट्रबाट सिक्दै यस्ता प्रविधिहरू भित्र्याउने उपयुक्त केन्द्रका रूपमा हाम्रा सहकारी संस्थाहरू हुन सक्छन् ।
कर्नेल विश्वविद्यालय र संयुक्त राष्ट्रसङ्घको वर्ल्ड इन्टलेक्च्यूअल प्रोपर्टी अर्गनाइजेशनले संयुक्त रूपमा निकालेको ग्लोबल इन्नोभेसन इन्डेक्स २०१८ को प्रतिवेदन अनुसार इन्नोभेसनका सन्दर्भमा १२६ देशहरूमध्ये नेपाल १०८ मा पर्छ । सन् २०१७ मा नेपाल १०९ मा थियो । एक वर्षभित्र सानै भए पनि इन्नोभेसनका सन्दर्भमा नेपालले केही उपलब्धि हासिल गरेको छ । यो सूचकाङ्कले कुनै पनि देशले इन्नोभेसनलाई दिएको महत्त्वको तुलनात्मक अध्ययनका आधारमा स्तर निर्धारण गर्दछ ।
राज्यले इन्नोभेसनको दिशामा तर्जुमा गरेका दीर्घकालीन नीतिहरू मार्फत वृद्धि, उत्पादकत्व तथा रोजगारीको सिर्जनामा दिएको प्राथमिकताको अध्ययन गर्छ । इन्नोभेसनमा लगाइएको लगानी (संस्थागत, मानवीय र अनुसन्धान, पूर्वाधार, बजार र व्यवसाय) र उपलब्धि (वैज्ञानिक र सिर्जनशील) बीचको सम्बन्धको अध्ययन गरी यो सूचकाङ्क प्रस्तुत गरिन्छ । सुरुदेखि नै स्विट्जरल्याण्डले यस सूचकाङ्कमा अग्रणी राष्ट्र (पहिलो) को रूपमा आफ्नो पहिचान बनाइरहेको छ ।
प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार ९ : ०३ बजे
प्रतिक्रिया