मनसुन क्रमशः क्षीण हुँदै

मेलम्चीवासीको पीडा : सरकार फेरियो फेरिएन अवस्था 

सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको विनाशकारी बाढीले तहसनहस बनाएको हेलम्बु र मेलम्ची क्षेत्रको पीडा १० महिना बित्तिसम्दा पनि ज्युँका त्यूँ छ । मङ्सीरको धान भित्र्याएर बगरैभरि आलुका हरिया पात देखिनु पर्ने हेलम्बु,मेलम्ची क्षेत्रमा अहिले ढुङ्गा र बालुवा सिवाय केही छैन । बाढीले ढालेका कतिपय घरको त एउटा ढुङ्गा समेत भेटिन सक्ने अवस्था रहेन । बाढीले निथारपिथार रहेको घर पनि ढलपलको अवस्थामा छ ।

 मेलम्चीमा ठुलो ढलान घर बनाउने सपना बोकेर साउदी पस्नुभएका शान्तिराम लुइँटेल ढलपलको अवस्थामा रहेको आफ्नो घर हेरेर अझै टोलाई रहन्छन् । न उनलाई कुनै काम गर्ने जाँगर छ न त कहीँ कतै गएर कमाउने नै  ! २ वर्ष विदेशमा कमाएको पैसाले गाउँमा पसल थाप्ने उनको सोच बाढीको प्रकोपसँगै अधुरै रह्यो । ‘विदेशमा २० घण्टा काम गरेर कमाएको पैसा सबै सकियो । गाउँमा आएर के के न गरौँला भनेको गरिहालियो नि ! ’रुन्चे हाँसो स्वरमा उनले भने । ‘काम गर्ने जाँगर पनि हराएर आयो । न सरकारले केही हेर्छ । गरौँला भनेको त सुनियो तर गरेको केही छैन । यत्रो महिना भइसक्यो’ उनले भने । 

सरकारले बाढी आउनासाथ खाद्यान्न सहित राहतको प्याकेज सहित पीडित परिवारलाई आवास निर्माणका लागि भन्दै ५ लाख दिने निर्णय गरेको थियो । तर,अझै पीडितहरूले आवास निर्माणका लागि कुनै राहत पाउन सकेका छैनन् । मेलम्ची खोलाले घर बगाएसँगै जस्ताको टहरा मुनि बस्दै आइरहनु भएका हेलम्बुका रामवीर तामाङको मुहारमा पनि कुनै रङ फेरिन सकेको छैन । मलिन र स्तब्ध अनुहार देखिने तामाङ आफूले राहत बाहेक आवास निर्माणका लागि केही नपाएको गुनासो गर्छन् । ‘खै घर बनाउन सरकाले ५ लाख दिन्छ भन्ने सुनेको थियो । अहिलेसम्म एक पैसा पाएको हैन’उनले भने । ‘नेताहरू हेलिकप्टरमा आउँथ्यो अहिले त आउनै छाड्यो पो ! बाढी आएको नि बिर्सेछ कि ! ’ उनले भने । ‘चनौटेको पुल त बनायो खै हाम्रो घर चैँ बनाउला जस्तो छैन । उनले सरकारप्रति आशङ्का व्यक्त गरे । 

मेलम्ची बाढीले क्षति गरेको ४ वटा पुल मध्ये चनौटेको रातो पुलमा बेल ब्रिज बाहेक अरुमा ढ्वाङ मात्र हालेर सवारी साधन आवत जावत गराई रहेको छ । यसले बर्खामा फेरी मेलम्ची इन्द्रावतीको सम्बन्ध विच्छेद गराउने प्रस्ट छ । अहिलेसम्म पुल बनाउन स्थानीय सरकारले कुनै पनि तदारुकता नदेखाएकोमा स्थानीय आक्रोशित छन् । ‘अहिलेसम्म पुल बनाउनमा न कुनै पहल भएको छ । अब बर्खासम्म पुल बन्छ ? हामी कताबाट आवत जावत गर्ने ’ स्थानीय केशव कोइराला आक्रोश पोख्छन् । यसको लागि त बाढीले बगाउनासाथ पहल गर्नुपर्ने हो के हेरेर बसेको थियो स्थानीय सरकार ’ उनले आक्रोश पोखे । 

यसो त इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ सडक विभागसँग आफूहरूले टेन्डर आह्वानको लागि निरन्तर दबाब दिएको र टेन्डर आह्वानका लागि काम भएईसकेको बताउँछन् । ‘हामीले सडक विभागलाई निरन्तर दबाब दिई रहेका छौँ टेन्डर आह्वान भइसक्यो। अब चाडै काम सुरु हुन्छ’उनले भने ।

उसो त पुल बने पनि बाढीले बगाएको घरहरू भने उठ्न सकेको छैन । नेताहरू हेलिकप्टरमा आउँदै जाँदै गर्दा दिक्दार बनेका हेलम्बु,मेलम्ची बासी सरकारले दिन लागेको राहत पनि नदेला कि भन्ने आशंकामा छन् । सरकार फेरिए पनि पीडितका अनुहार भने ज्युँ का त्युँ केही छ । न फेरियो रङ न फेरियो घर स्थानीयहरूको गुनासो छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ४४ बजे