भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले यहाँको दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् ।
स्थानीयस्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मङ्गलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गर्नुभएको थियो ।
कौशीखेतीबाट प्रभावित भएर आफूले पनि कौशीखेती गरेको जनाउँदै उहाँले देशैभरि घरघरको कौशीमा तरकारी उत्पादन गर्न सकेमा विदेशबाट निर्यात हुने तरकारीलाई घटाउन सकिने र स्वदेशी पैसा विदेशिनबाट रोकिने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन घट्दै गएको अवस्थामा तरकारी उत्पादनका लागि वैकल्पिक खेती प्रणाली अपनाउन नगरपालिकाले प्रोत्साहन गरेको जानकारी दिनुभयो । नगरपालिकाले यहाँका ३०० बासिन्दालाई कौशीखेती र प्राङ्गारिक मल उत्पादनबारे तालिम प्रदान गरेको छ ।
कार्यक्रममा एन्फो का कार्यकारी निर्देशक भावना शर्माले घरघरमा उत्पादन हुने फोहर पानी र कुहिने फोहरलाई व्यवस्थापन गरी कौशीखेतीमा प्रयोग गर्न सजिलो भएको बताउनुभयो । मेलामा २५ वटा प्रदर्शनी स्थल राखिएका थिए भने कौशीखेती गर्ने एक हजार ३०० महिलाको सहभागिता थियो । मेलाको स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायलगायत १० हजारले अवलोकन गरेका जनाइएको छ । सो अवसरमा उत्कृष्ट कौशीखेती गर्ने दुई समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
मेलामा महिलाले आ–आफ्ना कौशीमा फलाएका हरिया तरकारी, माटोबिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी सङ्कलन र फोहरपानीको प्रयोग, फोहरको व्यवस्थापन, प्राङ्गरिक मल उत्पादन बनाउने विधि, विभिन्न कृषि प्रविधि, कृषि औजार, तरकारी र च्याउका प्रजातिलाई प्रदर्शनी कक्ष राखिएको थियो । रासस
प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १० : ५८ बजे
प्रतिक्रिया