एनपीएलको ट्रफी सार्वजनिक

एमाले र काङ्ग्रेस मूल, अरू सबै चुकुल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई सिद्ध्याउन चाहनेको ’अन्तिम युद्ध’ जारी छ । एमालेसँग प्रतिस्पर्धा गर्न देउवालाई प्रचण्ड र माधव नेपालको बैसाखी चाहिएको छ भने प्रचण्ड र माधवलाई आफ्नो अस्तित्व जोगाउन नेपाली काङ्ग्रेसको फेर समात्नु परेको छ । परमादेशी सत्ता गठबन्धनमा आगामी स्थानीय निर्वाचनमा कसरी एमालेसँग भिड्ने भन्नेमा कोलाहल सुरु भएको छ ।

स्थानीय निर्वाचन भाँड्ने सब सम्भावना सकिएपछि एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि देश नयाँ राजनीतिक कोर्समा गएको छ । सेटिङ्मार्फत् अदालतको परमादेशबाट खोसिएको जनताको सार्वभौमसत्ता जनताकै हातमा फर्कने प्रक्रिया सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनको घोषणाले एमालेका पूर्व नेता माधव नेपाललाई सबभन्दा उच्चस्तरको रिङगटा लागेको छ । विगतमा पेरिस डाँडा कार्यालयमा प्रचण्डको नेमप्लेट मुनी आफ्नो नेमप्लेट राखेर राष्ट्रपति र प्रधानमन्त्री विरोधी मोर्चामा खटिएको बखत अदालतले एमाले ब्युँझाइदिएपछि ’एमाले भित्रैबाट ओली सिद्ध्याउने’ उद्घोषसहित एमाले फर्किएर केही समयपछि एमाले चोइट्याएका माधव नेपाल एक पछि अर्को लफडामा फस्दै गएका छन् । उनी परिवर्तनकामी जनताको नजरबाट निरन्तर गिरिरहेका छन् । पछिल्लो चरणमा देखिएको उनको कम्युनिष्टविरोधी क्रियाकलापले हिजो उनलाई निःशर्त सहयोग गरेका सयौँ नेता र हजारौँ कार्यकर्ताले सदाको लागि पारपाचुके गरेका छन् । एमालेबाट बाहिरिएपछि उनको राजनीतिक जीवन अन्धकारमय सुरुङमा प्रवेश गरेको छ । एमालेबाट चोइटिएर नयाँ पार्टी खोले पनि जनताले उनीहरूलाई आसन्न स्थानीय तहको मत दिएर जिताउने मौका शून्य प्रायः छ ।

दुई–दुई निर्वाचन क्षेत्रबाट निर्वाचन हारेका माधव नेपालले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ’प्रचण्ड’सँग अनुनय–विनय गरेर प्रथम संविधानसभाको सदस्य भएको र सोही मेसोमा पार्टीभित्र ओली–विद्याको सहयोगमा बाइस महिने प्रधानमन्त्री भएको इतिहास सबैले बिर्सेका छैनन् । डेढ दशक एमाले सुप्रिमो हुँदा एमालेलाई जमेको पानीजस्तो बनाएको पनि भुक्तभोगीहरूलाई थाहा नहुने कुरो भएन । अहिले आफूसँग भएको केही भोट काङ्ग्रेसलाई खन्याइदिएरै भए पनि एमालेलाई जित्न नदिने अभियानमा माधव नेपाल छन् । तर स्थानीय तहको निर्वाचनले माधव नेपालको यो अभिलाषालाई सदाका लागि शमन गरिदिने छ ।

स्थानीय तहको  निर्वाचन नजिकिँदै गर्दा माधव नेपालकै पैमानामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई रिङ्गटा लागेको छ । माओवादी जनयुद्धको दश वर्ष कसरी विपक्षीलाई भौतिक रुपमा सिद्ध्याउने ध्याउन्नमा बित्यो । त्यो अवधिमा सयौँ होनहार नेता कार्यकर्ता मारिए ।   

शान्ति प्रक्रियामा आएपछि पनि उनको यो बानी हराएन । प्रधानमन्त्री हुँदा कहिले प्रधान सेनापति सिद्ध्याउन लागे, कहिले पशुपतिका पुजारी । कहिले ओलीको उछित्तो काढे त कहिले गिरिजालाई । कहिले चिनिया कम्युनिष्ट पार्टीको विश्वास पात्र बन्न खोजे त कहिले भारतीय खुपिया एजेन्सी रअसँग अन्तरङ्ग उठबस गर्न पुगे । देशभरका आफ्ना कार्यकर्ता बोलाएर काठमाडौँ कब्जा गर्ने उटपट्याङ आन्दोलन गरे । थाहै नपाई आफ्नै सहकर्मीको चरित्र–हत्याको साजिस गर्ने प्रचण्ड एमाले सिद्ध्याउन कहिले नेपाली काङ्ग्रेसको चुकुल बने त कहिले आफ्नो अस्तित्व जोगाउन एमालेकै काखमा लुटुपुटु गर्न आइपुगे । एमालेमा मिसिएको केही समय नबित्दै माधव नेपालसमेतलाई भड्काएर ओलीविरुद्ध दक्षिणपन्थी साँठगाँठ गर्न पुगे । कहिले एमसीसी ल्याउन अमेरिकालाई पत्राचार गरे त कहिले यसको धुँवाधार विरोध गरे, गराए । कहिले एमसीसी संसद्बाट पास गर्न कुनै हालतमा सकिँदैन भने त कहिले त्यही संसद्बाट पास गराउन आकाश–पाताल जोडे । यसरी उनको राजनीतिक जीवन भित्ते घडीको पेन्डुलम जस्तै हुन पुगेको छ ।

आज उनी न भुत्तो न भविष्यति सङ्कटमा छन् । जेनतेन दश वर्ष पार्टी जोगाएर विद्रोह गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पार्टीमा एक पछि अर्को विखण्डन सुरु भयो । जनतामा युद्धका ’सुन्दर’ कथा सुनाउनु बाहेक उनीहरूसँग देश निर्माणको कुनै एजेण्डा प्रस्तुत गर्न सकेनन् । न हाँसको चाल न कुखुराको चालमा हिँडेका प्रचण्ड आज मरीच चाउरिए सरी चाउरिएका छन् । नेपाली काङ्ग्रेस वा अरू ठुला दलले सञ्जीवनी नदिए उनी नेपालको राजनीतिको मूलधारबाट सदाका लागि ओझेल नपर्लान् भन्न सकिन्न । त्यही कारण चुनाव भनेपछि निन्द्रामा पनि झस्कने हालतमा छन् उनी ।

सोह्रौँ शताब्दीमा विख्यात अङ्ग्रेजी साहित्यकार क्रिष्टोफर मार्लोद्वारा लिखित “डक्टर फस्टस“ नामक वियोगान्त नाटकको प्रमुख पात्र ’डक्टर फस्टस’को नियतिजस्तै छ एमालेका निलम्बित नेताहरूको नियति । डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्रविद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत् ऊ मेफिस्टोफिलिस हुँदै लुसिफरको सङ्गतमा पुग्यो । डक्टर फस्टस र लुसिफरकोविचमा एउटा सम्झौता भयो । २४ वर्षसम्म राक्षसहरूले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुख सुविधा उपलब्ध गराउने र २४ वर्षपछि उसको जीवन ती लुसिफरहरुलाई सुम्पनु पर्ने भयो । फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरूले त्यो इच्छा पुर्‍याई दिए । उसले पाइँदै नपाइने मौसममा अङ्गुरको झुप्पा माग्यो । उनीहरूले त्यो पुर्‍याई दिए । दश हजार वर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरूले जसो तसो पूरा गरी दिए । सम्झौताबमोजिम २४ वर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीँ वियोगान्त भयो । 

कम्युनिष्ट परम्परा, विचार, आचरण सबै त्यागेरै भए पनि सत्तामा पुग्ने अभिलाषाले प्रचण्ड र माधव उल्लिखित पात्र डक्टर फस्टसकै हालतमा पुगेका छन् । आफ्नो सम्पूर्ण विरासत देउवाको खालमा छोडेर खाली हात रुँदै फर्कने दयनीय अवस्थामा छन् ।

नेपाली काङ्ग्रेसका अल्पमत पक्षका नेता रामचन्द्र पौडेल, पहाडमा ’नयाँ शक्ति’ बिसाएर मधेस ओर्लेका डा. बाबुराम भट्टराई, आफूलाई मात्र मधेस आन्दोलनको मसिहा ठान्ने उपेन्द्र यादव ठिक यही हालतमा छन् । 

निर्वाचन हुने नै भएपछि वास्तवमा उनीहरू आफैँ  होसहवास छन् । पराजयको पीडाले अहिले नै उनीहरूको मन भतभत पोल्न थालेको छ ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपालको राजनीति पनि बिस्तारै दुई ध्रुवीय बन्दै गएको छ । एउटा सशक्त ध्रुवको नेतृत्व देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति नेकपा (एमाले)ले गरिरहेको छ भने अर्को ध्रुवको नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेको छ । जनताको अभिमत पनि त्यही बमोजिम बन्दै गएको छ । नेपाली का+ग्रे;, माओवादी केन्द्र, माधव समूह, मदेसवादी दलहरूभित्र रहेका सबै देशभक्त,लोकतान्त्रिक र प्रगतिशील नेता–कार्यकर्ता धमाधम एमालेको झण्डामुनि गोलबन्द भइरहेका छन् । 

एमाले विरोधी गठबन्धन निर्माण गर्न जतिसुकै ठुलो भूमिका खेलेको धाक धक्कु लगाए पनि प्रचण्ड र माधव नेपाल नेपाली काङ्ग्रेसको फसेको रथका चुकुल मात्र हुन्, जसले गर्दा नेपाली काङ्ग्रेस एमालेसँग चुनाव लड्ने हुङ्कार गर्न सफल भएको छ । कम्युनिष्टहरू विभाजन मात्र भएको होइन, प्रचण्ड र माधव समूह आफ्नै भातृ सङ्गठनजस्तो भएर उभिनुलाई उसले एउटा राम्रो अवसरको रूपमा लिएको छ । 

र, आगामी तीनै तहका निर्वाचन नेकपा(एमाले) र नेपाली काङ्ग्रेस बीचको महाभारत हुनेछ । जनताको अपेक्षा विपरीत बनेको परमादेशी गठबन्धनलाई थान्को लगाएर जनताले एमालेलाई सबै तहको सत्तामा पुनर्स्थापित गर्नेछन् ।   

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ५८ बजे