‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बस दुर्घटनाका मृतकका परिवारलाई रु एक लाख दिइने

खाँदबारी। सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ ।

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिनुभयो । 

यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही रु ५० हजारसमेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताउनुभयो । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उहाँको भनाइ छ ।  मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस  दुर्घटना हँुदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

 बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताउनुभयो । रासस

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ०३ बजे