दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सावधान होली रङ्गले निम्त्याउँला खतरनाक स्वास्थ्य समस्या 

काठमाडौं । होली रंगहरूको पर्व हो। होलीमा थुप्रै प्रकारका रङ प्रयोग गरेर होली खेल्ने गरिन्छ  त्यसैले पनि होली एउटा रंगीन पर्व हो। होलीमा थरीथरीका रङको सम्मिश्रणले वातावरण नै रंगिन बन्छ। रङ कसलाई मन पर्दैन  तर यसको परिस्थितिअनुकूल सही प्रयोग भएन भने हाम्रो शारीरीक तथा मानसिक स्वास्थ्यमा गंभिर असर पार्न सक्छ । 

पहिले पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै नै थियो । बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ । तराईतिर त अझै पनि  पोखरी नै रङ्गिन पार्ने गरिन्छ । अचेल होलीका नाउँमा कतिपयले विभिन्न रासायनिक पदार्थहरू घोलेर रङ्गहरू प्रयोग गर्न थालेका छन् । होलीमा हानिकारक रसायन प्रयोग गर्दा त्यसले मिर्गौला लगायत शारीरिक अङ्गमा हानी पुग्ने चिकित्सकहरू बताउँछन् । मानव निर्मित रङ्गको प्रयोगले विशेष छाला आँखा, तथा फोक्सोमा असर पुर्‍याउन सक्ने चिकित्सकहरूको भनाई छ । यसका साथै कपाल, नाक, मुख्यमा पनि असर पुग्न सक्ने भएकाले यस्तो काम नगर्न चिकित्सकहरूको आग्रह छ ।  

होलीमा गलत रङ्ग र पानी प्रयोग गर्दा हुने असर र त्यसबाट बच्नका लागि चाल्नु पर्ने कदमका विषयमा सिभिल हस्पिटलका  छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रविन्द्र शर्माका सुझाबहरु यहाँ प्रस्तुत गरिन्छ । 

होलीमा रङ्गबाट हुने असरहरू 
१ छाला, आँखा तथा फोक्सोको एलर्जी हुने । फोक्सोको एलर्जीले गर्दा दमको जोखिम हुने । 
२ होलीका रंङमा मालासाइट ग्रिन, लिड र मर्करी जस्ता पर्दाथहरु क्यान्सरजन्य पर्दाथहरु हुन् जसका कारण मानिस क्यान्सरको सिकार हुन सक्छन् । 
३ विभिन्न केमिकलबाट निर्माण गरेका रङ्गहरूमा औरमिन र रोडामिन जस्ता पर्दाथ विषालु हुन्छन् ।  जसले गर्दा मानव स्वास्थ्यका लागि यी हानिकार साबित हुन पुग्दछ ।
४ होलीका दिन वातावरण धेरै प्रदूषण बढ्ने हुँदा रुघा, खोकी जस्ता बिमारहरू बढ्न सक्छन् । 
५ हाली प्राय बाहिर खुल्ला भागमा खेलिने हुँदा रङ्ग र घामको प्रभावले छाला सुख्खा हुने, खस्रो, रुखो र कालो हुने असर आउन सक्छ । 

होलीमा अपनाउनुपर्ने सुरक्षा
होलीमा रङ्गहरूको प्रयोग गर्दा प्राकृतिक वा आयुर्वेदिक रङ्गको प्रयोग गर्नुपर्दछ । 
 कपालको सुरक्षा
 होली खेल्नु अधि नरिवल, जैतुन, आल्मोण्ड वा अन्य सुरक्षित तेल प्रयोग गर्नुपर्दछ । त्यसको प्रयोग करिब होली खेल्नु अगाडी २० देखि ३० मिनेट लगाउनु पर्दछ । 

होली खेलेपश्चात् तुरुन्त कपाल धुने र जति बेसी समय कपाल र छालामा रङ्ग रहन्छ त्यसले धेरै नै समस्या निम्त्याउछ । नुहाउँदा मिल्क स्याम्पुको प्रयोग गर्ने साथै ननिख्रियमा केही दिन दैनिक नुहाउनु पर्छ । 

लोला प्रयोग नगर्ने
पानी भरिएको लोला खेल्न त निकै रमाइलो हुन्छ । बालक देखि युवा सम्म लोला भनेपछि मक्ख पर्ने गर्छन् । तर जोरले लोला हान्नाले चोट पटक लाग्न सक्छ । आँखा, छाला तथा कानमा क्षति पुग्न सक्छ । त्यसैले, होली खेल्नु अघि बालबालिकालाई लोला खेल्नुको बेफाइदाबारे राम्ररी अवगत गराउनु पर्छ । पिचकारीले होली खेल्न सल्लाह दिनु पर्छ ।

अर्गानिक रङ प्रयोग गर्दा पनि सावधानी अपनाउने
अर्गानिक रङ केमिकल्सको प्रयोग हुँदैन । यद्यपि, होली खेल्ने समयमा यस्ता रङ मुख भित्र छिरेमा यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्ता रङले फुड प्वाइजनिङ लगायतका विभिन्न समस्या निम्त्याउँछ । विभिन्न किसिमको सङ्क्रमण गराउन सक्छ । त्यसैले, बालबालिकालाई होली खेल्नु अघि यस्ता रङ्गको दुष्प्रभावबारे बताउन जरुरी छ । ताकी यस्ता रङ आँखा तथा मुखमा छिरिहाले बालबालिकाले तुरुन्तै मुख धोउन् ।

 छालाको सुरक्षा
 – होली खेल्नु पूर्वक २ देखि ३ दिन अघिदेखि फेसिअल वा अन्य व्यूटिपार्लरको भेट बन्देज गर्ने । 
– होली खेल्दा  लामो बाहुला भएको पुरै शरीर ढाक्ने लुगाको प्रयोग गर्ने । 
– राम्रो गुणस्तरको सनस्क्रिनको प्रयोग गर्ने । 
– संवेदनशील छाला हुनेहरूले ओसिलो बनाउन क्रिमहरूको प्रयोग गर्ने ।
– होली खेलिसके पछि कम्तीमा एक हप्ता पछि मात्र फेसियल तथा अन्य पार्लरका विधि अपनाउने

 शरीरको सुरक्षा 
– नुहाउँदा हल्का अतररहीत साबुन प्रयोग गर्ने । नुहाएपछि तेलको वा छाला ओसिलो बनाउन क्रिमको प्रयोग गर्ने ।

 नङको सुरक्षा
– नङ पेन्ट वा बार्निसको प्रयोग गर्ने ।

आँखाको सुरक्षा
– सम्भव भएसम्म कन्टयाक्टलेन्स र चस्मा प्रयोग नगर्ने । 

 ओठको सुरक्षा 
– लिपगार्ड प्रयोग गर्ने ।

उपचार 
सामान्य एलर्जी भएमा तेल वा छालालाई ओसिलो बनाउने खालका क्रिमको प्रयोग गर्ने
छाला रातो र रुखो भएमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ ।
अत्यधिक चिलाउँदा एभिल वा अन्य चिलाउन रोक्ने औषधी प्रयोग गर्न सकिन्छ । 
समस्या जटिल हुँदा छाला रोग विशेषज्ञकोमा परामर्श लिनु पर्छ । 

प्रस्तुति  : युवराज ढुङ्गेल

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ५६ बजे