खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राजनीतिलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको इतिहास, भूगोल र देशको राजनीतिक विषय वस्तुलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउनुभएको छ । 
    
    भक्तपुर नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माण समितिका पदाधिकारीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा उहाँले विश्वको इतिहास र भूगोलको विषयमा विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई विद्यालयस्तरदेखि शिक्षित बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले शिक्षकले समाजमा आमूल परिवर्तनको निम्ति योगदान पु¥याउनुपर्ने बताउनुभयो । शिक्षकले भाषागत शुद्धाशुद्धि र नेपाली भाषामा विशेष दख्खल राख्नुपर्ने औँल्याउँदै उहाँले सत्तामा बसेका दलका नेताहरूमा दूरदर्शी सोच नराख्दा समस्या आएको बताउनुभयो ।

    अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाबाट गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारी योगेन्द्रमान बिजुक्छेँ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार प्रदान गर्नुभयो ।
  
     कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी ९२ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दै ख्वपको पहिचान भाग १ र भाग २ प्रकाशनमा ल्याएको बताउनुभयो । सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ भन्दै उहाँले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागू गर्ने भक्तपुर नै पहिलो नगरपालिका भएको बताउनुभयो । नगरपालिका उपप्रमुख रजनी जोशी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँ, सदस्य सिद्धिरत्न शाक्यलगायतले समाजको आवश्यकता र रुचिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै लानुपर्ने बताउनुभयो ।

रासस 
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : १७ बजे