भ्रातृ संस्थालाई पूर्णता दिन  कांग्रेस निरन्तर असमर्थ

काठमाडौं ।  रिक्त रहेका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन नेपाली कांग्रेस निरन्तर असमर्थ भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गरी फागुन मसान्तसम्म भ्रातृ संस्थाहरुको तदर्थ समिति गठन गर्ने निर्णय गरे पनि फागुन सकिनै लाग्दा पनि काग्रेंसले तोकेको समयमा संगठन बनाउन सकेन ।

फागुन ३ गते सम्पन्न कांग्रेस कार्यसम्पादन समिकिो बैठकले सभापति देउवालाई नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत १० भ्रातृ संस्थालाई फागुन मसान्तभित्र पूर्णता दिने जिम्मेवारी सुम्पिएको थियो । 

कांग्रेसका एक पदाधिकारीका अनुसार नेविसंघका सन्दर्भमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमै शीर्ष तहमा कुरा मिलेको छैन । 

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भ्रातृसंस्थाको तदर्थ समिति गठनबारे तयारी गर्न जिम्मेवारी दिएका थिए ।  

कांग्रेसका १० भ्रातृसंस्थामा सिंगो तदर्थ समिति नयाँ ल्याउनुपर्नेछ भने केही भ्रातृ संस्थाहरुमा रिक्त पदमा मनोनयन गर्न बाँकी छ ।भातृसंस्थालाई पूर्णता दिन नसकेको काग्रेंसले स्थानीय तहको चुनावी अभियान भने सुरु गरिसकेको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : २१ बजे