देउवाकै गृह जिल्लामा काङ्ग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने

डडेलधुरा । सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा काँग्रेस भित्रको विवाद बढ्दै गएको छ।

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एकताबद्ध हुने गरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन् । १४औँ राष्ट्रिय महाधिवेशनअघि सम्पन्न सातौँ जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन्। 

सातौँ जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता विना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुङ्गिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो। 

पार्टी सभापति देउवाको सहयोगमा एक पक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै काँग्रेस डडेलधुराको सभापति बन्नुभएका परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले पार्टी एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको भए पनि हाल एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो। 

काँग्रेस डडेलधुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन  ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावी अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन्। 

शनिकार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। 

नगर प्रमुख तथा काँग्रेस डडेलधुराका सभापति साउदले सातौँ जिल्ला अधिवेशनको प्रारम्भदेखि नै पार्टीको विधान विपरीत काम गर्दै इमानदार नेता कार्यकर्ताहरूलाई पेलेर एकपक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको ठुलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एकपक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले आगामी ५ चैतमा वडा स्तर र ८ गते पालिका स्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

काँग्रेस डडेलधुराका पूर्व उपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले सङ्घर्ष समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार गोपा थापा, काँग्रेस डडेलधुराका पूर्व सदस्य तथा परशुराम नगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साउद र राजबहादुर भण्डारी सदस्य हुनुहुन्छ।

सङ्घर्ष समितिले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिन नेतृत्वलाई दबाब दिन सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने संयोजक भट्टले बताउनुभयो। उहाँले पार्टीभित्र इमानदार नेता कार्यकर्ताहरूलाई पन्छ्याउन खोजिएकाले पार्टी एकताबद्ध नहुन्जेलसम्म वर्तमान जिल्ला कार्यसमितिले अघि सारेका हरेक कार्यक्रम बहिष्कार गरिने जानकारी दिनुभयो ।

काँग्रेस डडेलधुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन  ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान एकपक्षीय रूपमा सञ्चालन गर्न थालेको छ। २९ फागुनदेखि २९ चैत एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न काँग्रेस केन्द्रीय समितिको निर्देशन छ।

डडेलधुरा जिल्लाका सात वटा स्थानीय तहमा ८ चैतमा एकै समयमा हुने चुनावी सभाका लागि प्रतिनिधिहरू तोकिएका छन्। दुई वटा नगरपालिकामध्ये परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगर प्रमुख साउद प्रतिनिधि तोकिनुभएको छ ।

यस्तै, भागेश्वर गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्यसमिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्व सभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको काँग्रेस डडेलधुराले जनाएको छ। 

स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेलधुराका ५२ वटै वडामा प्रतिनिधि खटाइएको छ भने ५ चैतमा वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ। 

यसरी प्रतिनिधि खटाउँदा एकपक्षीय रूपमा खटाइएको भन्दै काँग्रेस डडेलधुराभित्र तीव्र असन्तुष्टि बढेको काँग्रेस डडेलधुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताउनुभयो। उहाँले अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा सञ्चालित चुनावी अभियान बहिष्कार गर्ने जानकारी दिनुभयो। 

पार्टी एक ढिक्का बनाउन प्रधानमन्त्री तथा सभापति देउवाले भूमिका निर्वाह गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताको माग छ। 

सभापति देउवाले आफू पक्षीय नेता कार्यकर्तालाई अवसर दिने र तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षीय नेता कार्यकर्तालाई पेलेर लैजान थालेकाले काँग्रेस डडेलधुरामा विवाद सिर्जना भएको काँग्रेस डडेलधुराका निवर्तमान सहसचिव अर्जुनबहादुर मल्लले बताउनुभयो। 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १२ : १० बजे