मार्च ७ मा एबीसी टेलिभिजनमा अन्तरवार्ता दिँदै राष्ट्रपति जिलेन्स्कीले ‘नेटो युक्रेनलाई स्वीकार गर्न तैयार छैन भन्ने बुझेपछि म यसबारेमा निश्चित जस्तै भएँ’ भनेका थिए । ‘नेटो युक्रेनलाई स्वीकार गर्न तैयार छैन भन्ने बुझेपछि म यसबारेमा निराश जस्तै भएको’ पनि उनले बताएका थिए । त्यसपछि स्थितिमा केही परिवर्तन देखिने हो कि भन्ने आँकलन पनि गरिँदै थियो । तर, दुनियाँका सबै शक्ति केन्द्रहरूको स्वार्थ गाँसिएको युक्रेन—रुस तनावमा सहजता देखिने सम्भावना भने अझै न्यून थियो ।
रुस र युक्रेनबीच बेलारुसमा तेस्रो चरणसम्मका वार्ताहरू केही सहरहरूबाट मानिसहरूलाई बहिर सुरक्षित निकाल्न अस्थायी कोरिडोर उपलब्ध गराउने झिनो उपलब्धि बाहेक केही देखिएको थिएन । जे भए पनि जिलेन्स्कीले एबीसीलाई दिएको अन्तरवार्तालाई तीन दिनपछि मार्च १० मा रुसी विदेश मन्त्री सर्गेई लावारोभ र युक्रेनी परराष्ट्र मन्त्री दिमित्रो कुलेबा टर्कीमा हुने अनौपचारिक तर दुवै देशका उच्चस्तरका नेताहरूको पहिलो भेटघाटमा केही सकारात्मक निष्कर्षमा पुग्ने बिन्दुका रूपमा आशा गरिएको थियो । तर, त्यो प्रयास पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेन । डर थियो, निराश देखिएका जिलेन्स्कीको दुरुपयोग गर्दै रुसले सबै सर्तहरू मान्न बाध्य पारेर युक्रेनलाई आत्मसमर्पण गराउने र उसको सम्प्रभुतालाई आघात गर्ने हो कि भन्ने । तर, त्यसो भएन । यदि यस्तो भएको भए विश्वका साना देशहरूमाथि ठुला देशहरूको वर्चस्व जायज हुने सन्देश कुनै न कुनै रूपमा जान सक्थ्यो ।
यही सेरोफेरोमा यता भारतका एक जना पूर्व सैनिक अधिकारीले भारतका मसालेदार मानिएका मिडियामा जुँगा मुसार्दै भारतीय शैलीमा भुटान र नेपाललाई युक्रेनको हालत बनाइदिने धम्की समेत दिए । तर दुःखद कुरा, उता युद्ध विराम नहुँदा युक्रेनी जनताले खेप्न परिरहेको पीडा यथावतै रह्यो ।
नेटोको सदस्य देश टर्कीको अन्तालिया सहरमा भएको रुस, युक्रेन र टर्कीका परराष्ट्र मन्त्रीहरूको त्रिपक्षीय बैठकले सिजफायर (युद्ध विराम)को निष्कर्ष निकाल्ने आशा गरिए पनि त्यो सफल भएन । टर्कीको समाचारपत्र ‘डेली सबा’का अनुसार युक्रेनी परराष्ट्र मन्त्री दिमित्रो कुलेबाले ‘रुसले कुनै लचकता नदेखाएको र सबैभन्दा अप्ठ्यारोमा रहेको मेरीपोल सहरमा समेत मानवीय कोरिडोर उपलब्ध गराउन नमानेकोले वार्तामा कुनै प्रगति नभएको’ भनी पत्रकारहरूलाई बताए । रुसी परराष्ट्र मन्त्री सर्गेई लाभारोभले रुसले समन्वयका लागि निरन्तर प्रयास गर्ने बताएका छन् । वार्तामा मध्यस्थकर्ता टर्कीले भएसम्म सिजफायर नभए मानवीय कोरिडोर बनाउन दुवैसँग अपिल गरेको थियो । यो वार्ता विफल भएपछि युक्रेनमा युद्ध झन् चर्किएको समाचारहरू आइरहेका छन् ।
वार्ता गराउन पहल गर्ने अमेरिकासँग नजिकको सम्बन्ध भएकाहरू नै सक्रिय देखिएका छन् । यसले अमेरिकाले रुससँग प्रत्यक्ष युद्ध बाहेकका सबै मोर्चाहरूमा द्वन्द्व तीव्र पार्ने प्रयास गर्दै आएको छ । वार्ताको पहल गर्ने, आर्थिक नाकाबन्दी गर्ने, रुस विरुद्ध प्रचार युद्ध तीव्र पार्ने, खुफियातन्त्रलाई सक्रिय पार्ने र युक्रेनलाई हतियार जुटाउन सहयोग गर्ने नीति लिएको देखिँदै छ । रुसको वरपर रहेका नेटोका सदस्य देशहरूमा अत्याधुनिक हातहतियारले सुसज्जित सेना तैनात गरी युद्धाभ्यास गरिरहेको छ ।
युक्रेनलाई युद्धमा सघाउन विदेशबाट लगभग २० हजार युवाहरू विभिन्न माध्यमबाट युक्रेन पुगेको समाचारहरू आइरहेका छन् । मार्च ५ मा युक्रेनले यसरी आउनेहरूलाई युक्रेनको नागरिकता दिइने जनाएको छ । यसले युद्धलाई झन् जटिलतातिर लैजाने ठुलो जोखिम उत्पन्न हुने सम्भावना रहन्छ । यसले युद्धलाई वर्षौँसम्म लैजाने खतरा रहन्छ । त्यसको ताजा उदाहरण अफगानिस्तान हो ।
अफगानिस्तानमा सोभियत युनियनको सैनिक हस्तक्षेपपछि अमेरिकाले अफगानिस्तानभित्र र बाहिरका कट्टर इस्लामिक जेहादी लडाकाहरूलाई पाकिस्तान मार्फत सहयोग गर्दै सोभियत सेनालाई फिर्ता हुन बाध्य बनायो । त्यसले अन्ततः सोभियतसंघलाई विभाजित र समाजवादलाई पतन गर्यो भने अफगानिस्तानलाई तहसनहस पार्यो । युक्रेनमा पनि यही खेल खेल्ने प्रयास भइरहेको आशङ्का छ । नेटोले यसरी आफ्ना सेनालाई पनि स्वयंसेवक योद्धाका रूपमा युक्रेन पठाएको भन्ने आशङ्का गरिँदै छ ।
नेटोका सदस्यहरू जर्मनी र फ्रान्स सुरुदेखि नै मस्कोको सम्पर्कमा रहिआएका छन् । एमानुयल मेक्रों र ओलफ सोल्ज मस्कोलाई युद्ध विराम गराउन प्रयास गर्नेहरू हुन् । जर्मनी र फ्रान्स रुसको खनिज तेल र ग्यासका मुख्य बजार मध्येका हुन् । तर, उनीहरू रुसलाई युद्ध विराम गराउन सफल देखिइरहेका छैनन् । अमेरिकासँग नजिकको सम्बन्ध रहेको इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेट पनि केही दिन पहिला युद्धकै बीचमा जर्मनी हुँदै मस्को पुगेका थिए । इजरायलको रुससँग पनि सम्बन्ध राम्रै छ ।
युक्रेन र रुसबीच मध्यस्थता गर्ने प्रयासका साथै उनले युक्रेनी यहुदीहरूलाई स्थायी बसोबासका लागि इजरायल आउन अपिल पनि गरे । यति बेला इजरायलबाट देश छोडेर जानेहरूको सङ्ख्या बढेको तथ्याङ्कहरूले देखाएका छन् । धर्मका नाममा गरिने यो उद्धार आफैमा उचित मनसाय प्रेरित हो भन्न सकिँदैन ।
टर्की नेटोको सदस्य भएर पनि रुस र युक्रेन दुवैसँग सम्बन्ध राम्रो छ । रुसी आक्रमणलाई दुर्भाग्यपूर्ण बताए पनि उसले नेटोले भने अनुसारको रुसको आलोचना गरेको देखिँदैन । टर्की अमेरिकाले भने जस्तो रुसमाथि प्रतिबन्ध लगाउन अनिच्छा देखाउँदै आएको छ । नेटोका महासचिव जेम्स स्टोलेनवर्ग युक्रेन र रुसका विदेश मन्त्रीहरूको अनौपचारिक वार्ता भएको भोलिपल्टै अनातोलिया डिप्लोमेसी फोरममा भाग लिन टर्कीको अनातोलिया पुगेका छन् । त्यहाँ उनले रुसमाथि प्रतिबन्ध लगाउन विभिन्न देशका प्रतिनिधिबीच ठुलो लबिङ गरिरहेका छन् । टर्कीको मध्यस्थतामा युक्रेन र रुसका विदेश मन्त्रीहरूको निष्कर्ष विहीन वार्ता पछिको यो भेटघाट अर्थपूर्ण देखिन्छ ।
लोकतन्त्रको रक्षा, रासायनिक हतियार प्रयोग हुनबाट रोक्ने, मानव अधिकारको रक्षा र आतङ्कवादको नाममा विभिन्न देशहरूमा अमेरिकाले हस्तक्षेप गर्ने गरेको छ । उसको यस अभियानमा लाखौँ मानिसहरूको ज्यान गएको छ, खरबौँको सम्पत्ति नोक्सान भएको छ, समाज र राजनीतिलाई लामो द्वन्द्वमा फसाइएको छ ।
अफगानिस्तान, लिबिया, सिरिया, इराक, लेबनान त्यसका उदाहरण हुन् । त्यस बापत अमेरिकाले कहिल्यै प्रतिबन्धको सामना गर्न परेको देखिँदैन । युक्रेन र रुसको द्वन्द्वको बीजारोपण गर्ने काम पनि अमेरिकाबाट भएको हो । रुस र युक्रेन दुवैले यो कुरा समयमा नै मनन गरेको भए आजको जस्तो भयावह स्थिति उत्पन्न हुने थिएन । सैनिक समाधान खोज्ने प्रयासले ठुलो अशान्ति मच्चिने र सोभियतसंघ झैँ देशको अस्तित्व नै समाप्त हुनेतर्फ दुवैले ध्यान दिन आवश्यक छ । यसका लागि कूटनीति पहल बाहेक कुनै अर्को विकल्प देखिँदैन ।
प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ११ : ३१ बजे
प्रतिक्रिया