मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस सिन्धुपाल्चोक सभापतिको निर्वाचन : प्रेमध्वज लामाको समर्थन वंशलाललाई

सिन्धुपाल्चोक । काँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । 

चौतारामा सुरु भएको मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेको छ । 

शनिवार पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेको हो ।

दोस्रो चरणबाट बाहिरिनुभएका डा.प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने  हुनुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरेर लामाले आफ्नो समर्थन वंशलाललाई रहेको प्रस्ट पार्नुभएको छ ।

“राजनीतिक निष्ठा, वैचारिक इमानदारिता र पार्टीप्रतिको प्रतिविद्धतामा यहाँहरूले जाहेर गर्नुभएको मतको मैले उच्च सम्मानको रूपमा लिएको छु” उहाँले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीअन्तर्गत हामीले जुन अभ्यास गर्‍यौँ, त्यसले हामीलाई उच्च राजनीतिक संस्कारमा प्रवेश गराएको छ ।”

नेपाली काँग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाला तामाङलाई सहयोग गर्ने उहाँले बताउनुभयो । लामाले पार्टीमा विभेद, निषेध र गैर राजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ  । पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकताबद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उहाँले अनुरोध समेत गर्नुभएको छ 

शनिवार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुरले सात सय पाँच मत प्राप्त गर्नुभएको थियो । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याउनुभएको थियो । ४० मत बदर भएको थियो । 

सभापतिमा उठ्नकै लागि लामाले त्रिविको उपप्राध्यापकबाट राजीनामा दिनुभएको थियो । तर अन्तिम समयमा मोहनबहादुर बस्नेतले लामालाई आधिकारिक उम्मेदवारको टिकट नदिई जंगबहादुरलाई दिनुभएको थियो । 

यदि प्रेमध्वज लामालाई मत दिने सबैले वंशलाललाई मत हाले सिन्धुपाल्चोकमा संस्थापन पक्ष पराजित हुने सम्भावना छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ५१ बजे