साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गायक प्रकाश सपूतलाई सुरक्षा खतरा, माओवादी नेताले दिन थाले धम्की

काठमाडौँ । माओवादी द्वन्द्वले पारेको कारुणिक पीडालाई उजागर गर्नुभएका गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ । 

माओवादी द्वन्द्वले दिएको पीडासम्बन्धी म्युजिक भिडियोको चर्चा चुलिरहेको बेला उहाँलाई माओवादी नेताहरूले  धम्काउन थालेका छन्  । सपूतलाई माओवादी सम्बद्ध सङ्गठनका पदाधिकारीले युट्युबबाट भिडियो हटाउन धम्की दिइरहेका छन् । 

माओवादी सम्बद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडियो नहटाए चुप नलाग्ने भन्दै धम्की दिएकी हुन्  । सामाजिक सञ्जालमा पनि उनी विरुद्ध धम्की आइरहेका छन्  ।

माओवादी केन्द्रीय सदस्य दीपशिखाले पनि सपुतलाई चेतावनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तिजनक मात्र नभई दण्डनीय भएको बताएका छन् ।

प्रकाश सपूतको पीर दियो बोलको गीत यति बेला युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा राखेको भिडियो अहिलेसम्म १२ लाखभन्दा बढिले हेरिसकेका छन् ।

माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतको अभिनय रहेको छ ।

भिडियोमा माओवादीका पूर्व लडाकुहरू विदेशिन बाध्य भएको देखि पेट पाल्नका लागि यौन पेसामा लाग्न बाध्य भएको कारुणिक कथा छ ।

प्रकाश सपूतको पीर दियो बोलको गीत (भिडियो ) :​​​​​​​

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : १८ बजे