प्रतिनिधिसभा बैठक बस्दै, महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने तयारी

​​​​​​​काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । 

प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक आज दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दै छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते मा महाभियोग दर्ता भएको थियो । 

त्यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको  छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ०७ बजे