‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पाँच वर्ष बित्दा पनि सरसफाइ केन्द्र व्यवस्थापनमा सकस

दमौली । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्नै लाग्दा पनि व्यास नगरपालिकाले सरसफाइ केन्द्र व्यवस्थापन गर्न सकेन । 

जिल्ला सदरमुकाम दमौलीमा रहेको नगरपालिकाले पाँच वर्षको अवधिमा पनि सरसफाइ केन्द्रको व्यवस्थापन गर्न नसकेको हो । त्यसो त नगरपालिका स्थापना भएको ३० वर्ष पुगेको छ । यसबीचमा तीनवटा नगरप्रमुख परिवर्तन भए तर कुनै पनि नगरप्रमुखले सरसफाइ केन्द्रको टुङ्गो लगाउन सकेनन् । नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न टाउको दुखाइ बन्दै आएको छ । 

फोहोरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले सरसफाइ केन्द्र व्यवस्थापनमा भने जुटेको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै फोहोरमैला व्यवस्थापनका लागि पहल भए पनि त्यसले सार्थक रुप लिन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

कार्यकाल सकिने बेलामा जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको तयारीमा जुटेको उहाँले बताउनुभयो । नगर क्षेत्रभित्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि ५० देखि एक सय रोपनीसम्म सार्वजनिक जग्गाको खोजी सुरु गरिएको उहाँको भनाइ छ । जग्गा खोजी गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

नगरपालिकाका विभिन्न वडामा रहेका सार्वजनिक जग्गा पहिचानका लागि काम सुरु भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । “सरसफाइ केन्द्र निर्माणका लागि कहाँ कहाँ सार्वजनिक जग्गा छ त्यसको खोजी कार्य सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “जग्गा पहिचान भएपछि सरसफाइ केन्द्र निर्माणको काम अगाडि बढ्छ ।”

सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहोरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको छ । “फोहोरमैला व्यवस्थापनमा नमूना बनेको वालिङ पुगेर सरसफाइ केन्द्रको अध्ययन ग¥यौँ, त्यसले पनि हामीलाई सहयोग पुगेको छ”, प्रमुख प्रशासकीय अधिकृत सिग्देलले भन्नुभयो ।

नगरपालिकाले वर्षौंदेखि व्यास नगरपालिका–३ मादीस्थित भतेरीमा फोहोरमैला फाल्दै आएको थियो । मादी नदीमा बर्सेनि आउने बाढीले उक्त ठाउँ कटान गरिदिएपछि फोहोरमैला फाल्न समस्या भएको थियो । फोहोरमैला फाल्ने ठाउँ मादीले कटान गरिदिएपछि नगरपालिकाले व्यास नगरपालिका–१ मा निजी जग्गा भाडामा लिएर फोहोरमैला व्यवस्थापन गर्न थालेको थियो । उक्त ठाउँ पनि फोहोरमैलाले भरिएपछि ठाउँ अभाव भएको थियो । त्यसयता नगरपालिकाले व्यास नगरपालिका–१३ स्थित कोइदिम जाने बाटो नजिकको खोल्सामा फोहोर फाल्न थालेको छ । 

“यो ठाउँ पनि स्थायी होइन, वैकल्पिक व्यवस्थापनका लागि यहाँ फोहोरमैला विसर्जन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “सरसफाइ केन्द्र निर्माणपछि फोहोरमैला व्यवस्थापनको वर्षौंदेखिको समस्या समाधान हुनेमा हामी विश्वस्त छौँ ।” नगरपालिका सरसफाइ शाखाका अनुसार व्यास नगरपालिकाको बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक ११ टन फोहोर सङ्कलन हुँदै आएको छ । त्यसमध्ये कुहिने फोहोर व्यास नगरपालिका–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : २७ बजे