मनसुन क्रमशः क्षीण हुँदै

आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा एमाले प्रवेश

​​​​​​​बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो । 

मुस्तफालाई एमाले अध्यक्ष  केपी शर्मा ओलीले  आफैं बारा पुगेर पार्टी प्रवेश गराउनु भएको हो ।  अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ,प्रभु साह,ज्वालाकुमारी साह लगायतका नेताहरु पार्टी प्रवेश कार्याक्रमका लागि बारा पुग्नुभएको थियो । 

मुस्तफाले जसपा लगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएकोले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले  मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै विकासका लागि मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको बताउनुभयो ।  अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको भन्दै उहाँले धेरै कार्याकर्ताहरु एमालेमा आउने बताउनुभयो । 

पार्टी प्रवेशमा कलैया नगरपालिकाका वडाध्यक्षहरु समेत समेटिनुभएको  जिल्ला अध्यक्ष विनोद साहले बताउनुभयो ।

पछिल्लो समय  मधेशका विभिन्न जिल्लाबाट प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु  एमाले प्रवेश गर्नेक्रम तिव्र बनिरहेको छ । 

शनिवारमात्रै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको थियो । पर्सामा मात्रै यसबीचमा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरिसक्नुभएको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ३९ बजे