‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छ : राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन् । 

मस्कोका चासोहरूलाई पश्चिमा देशहरूले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।  

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गर्नुभयो । उहाँले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेको समेत बताउनुभयो । “निश्चय नै सकारात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरूले बताएका छन्” राष्ट्रपति पुटिनले भन्नुभयो, “यसबारे पछि मैले सबै भन्नेछु ।”

यसै साता रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलेसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन ।

रुसी हमलामा हजारौँको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरूमा शरण लिएका छन् । युक्रेन सङ्कटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन् । तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ । बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् ।“सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो । यसले विकासमा सहयोग गर्नुका साथै ठुलो उपलब्धि प्रदान गरेको थियो” पुटिनले भन्नुभयो । एजेन्सी

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ५३ बजे