मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

​​​​​​​काठमाडौँ ।  एनसेल आजियाटा लिमिटेडले काठमाडौँस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।

विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नति पश्चात् हालै काठमाडौँ महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आम नागरिकका लागि खुल्ला गरिएको छ ।

यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । 

नवनिर्मित बहुउद्देश्यीय लैनचौर मैदान खुल्ला गरिएको अवसरमा गत शनिवार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको समेत आयोजना गरिएको थियो । 

५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । 

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मत सम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी दुई वर्ष सम्मका लागि मर्मत सम्भार गर्नेछ ।

मैदानमा अन्तर्राष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ ।

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । 

एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौँ महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो । 

“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुउद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौँ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयो । 

काठमाडौँ महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

“एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुउपयोगी खेल मैदान बनाएका छौँ । एस्ट्रोटर्फ बिछ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ,” उहाँले भन्नुभयो । “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठुलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुल्ला ठाउँको संरक्षणमा ठुलो योगदान पुर्‍याएको छ ।”

लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजक (रम्बा)ले मैदानको पुनर्निर्माण तथा उद्घाटनपछि उत्साह व्यक्त गर्दै भन्नुभयो “पहिलेको धुले मैदान अब विभिन्न खेल खेल्न सकिने बहुउद्देश्यीय मैदानको रूपमा परिवर्तित भएको छ । यहाँ मानिसहरू बिहान मर्निङ वाक गर्न सक्छन् । स्थानीय क्लबका युवा तथा नजिकका स्कुल÷कलेजका विद्यार्थीले खेल खेल्न सक्छन् । यस्तो मैदानले खेलको विकास तथा सफा र सुन्दर सहरको विकासमा टेवा पुर्‍याउँछ । यसका लागि हामी एनसेलप्रति आभारी छौँ ।”

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ । 

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ३४ बजे