सङ्खुवासभा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । 

मादी–६ को सात घुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी जानकारी दिनुभयो ।

आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । 

मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १० : २४ बजे