महाकालीमाथि भारतीय दादागिरी, तटबन्ध निर्माण कार्य रोक्न अनेरास्ववियुको माग  

​​​​​​​काठमाडौँ । अनेरास्ववियुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ खलङ्गामा भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै हेपाहा शैलीमा एक पक्षीय रूपमा नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा र लिपुलेक फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान परमादेशी सरकारले उक्त कार्यमा मूकदर्शक हुनु दुःखद भएको जनाउनुभएको छ । 

अनेरास्ववियुले सीमा रक्षाका लागि उक्त क्षेत्रका स्थानीयले प्रतिकार गर्दा भारतीय पक्षबाट भएको दमनको भर्त्सना समेत गरेको छ ।  सङ्गठनले सीमा जस्तो संवेदनशील विषयमा समेत दार्चुला प्रशासनले मौनता साध्नु हदैसम्मको गैर जिम्मेवार भएको भन्दै  आवश्यक पहलकदमी तत्काल लिन माग गरेको छ ।

“हामी तत्काल भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्दै तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन जोडदार माग गर्दछौँ ।” अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : ४३ बजे