रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाउनुभयो।

उहाँले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताउनुभयो ।

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन् । पछिल्लो तथ्यांकअनुसार पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५ सय ८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । 

राजदूत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन् ।युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। 

करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठुलो सहयोग गरेको बताउनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : २१ बजे