‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । 

चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायी रूपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रूपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहान स्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिनुभयो ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताउनुभयो ।

मुख्य प्रवेश मार्गमै ठुलो पहिरो गएकाले एसियन विकास बैङ्क (एडिबी) ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताउनुभयो । ब्लाष्टिङबाट निस्केको गेग्र्यान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : १० बजे