‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माओवादी निकट व्यवसायीको आरोप : अर्थमन्त्री र ऊर्जामन्त्री दलाल पुँजीपतिको सेवक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल उद्योग व्यवसायी महासङ्घले अर्थमन्त्री जनार्दन शर्मा र उर्जामंत्री पम्फा भुसालको आलोचना गरेका छन् ।

नेपाल उद्योग व्यवसायी महासङ्घको प्रथम विस्तारित बैठक तथा केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद आचार्य र केन्द्रीकृत महासङ्घका अध्यक्ष श्यामराज पाठकले माओवादी केन्द्रका मन्त्रीहरू दलाल पुँजीपतिका सेवक भएको बताएका छन् । अध्यक्ष आचार्यले  अर्थमन्त्री शर्माकै कारण अहिले अर्थतन्त्र सङ्कटमा परेका बताएका छन् । उहाँले माओवादी निकट रहेका उद्योगीहरूको काम नहुने तर प्रतिक्रियावादीहरूको काम अर्थमन्त्री र ऊर्जामन्त्रीले तत्कालै गर्ने गरेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा केन्द्रीकृत महासङ्घका अध्यक्ष पाठकले आफ्नै पार्टीको अर्थमन्त्री भए पनि अर्थतन्त्र भत्किँदै गएको र राष्ट्रिय अर्थतन्त्र बनाउने  सपना चकनाचुर हुँदै गएको बताएका छन् । अहिले बैङ्कमा पैसा छैन, व्याज बढेको छ तर राज्य प्रशासन नै दलाल पुँजीपतिको हातमा हुँदा हामी फसेका छौँ र राज्य संयन्त्र समेत फसिसकेको बताएका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ३७ बजे