दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यी लक्षण भए तपाईँलाई लुतो भएको हुन सक्छ 

काठमाडौँ । अहिले गाउँको भन्दा सहरी क्षेत्रको वातावरण धेरै प्रदूषित हुँदै गइरहेको छ । प्रदूषणकै कारणले मानिसमा छाला सम्बन्धी धेरै रोगहरू लाग्ने गरेको पाइन्छ । भिडभाडका कारणले समेत छाला सम्बन्धी सरुवा रोगहरू सर्ने गरेको पाइन्छ । प्रदूषणकै कारण छालामा देखिने रोगहरू मध्ये लुतो पनि एउटा प्रमुख रोग हो । यसै बारेमा सिभिल हस्पिटलमा विगत १३ वर्षदेखि छाला तथा यौन रोग विशेषज्ञको रूपमा काम गरिरहनुभएका डाक्टर रविन्द्र शर्मासँग चक्रपथकर्मी युवराज ढुङ्गेलले तयार पार्नुभएको एक सन्दर्भ सामाग्री यहाँ प्रस्तुत गरिन्छ : 

छाला रोग भनेको के हो ?

छालालाई हाम्रो शरीरको सबै भन्दा प्रमुख अङ्गका रूपमा हामी लिन सक्छौँ । छाला मुख्य गरी दुई प्रकारका हुन्छन् जस्तै देखिने शरीर बाहिरको छाला र नदेखिने शरीर भित्रको छाला ।  त्यो बाहेक मुख भित्रको छाला र लिङ्ग भित्रको छालालाई पनि लिन सक्छौँ । हरेक मानिसलाई छालासम्बन्धी रोगबाट पीडित छन् । बढ्दो धुवा धुलोको प्रदूषण, अस्वस्थकर तथा अनियमित खानपान र फोहोर पानीका कारण मानिसहरूमा छालासम्बन्धी रोग लाग्ने गर्दछ ।

छालाले शरीरलाई भित्री सङ्क्रमण हुनबाट जोगाउँछ । छालामा पनि विभिन्न समस्या आउँछन् । सुक्खापन आउने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या मात्र होइन हाम्रो शरीरको भित्री भागमा हुने कुनै पनि रोगको लक्षण छालामा देखिने गर्दछ । 

छालामा रोग के कारणले हुने गरेको पाइन्छ ?

भाइरस रोगहरूको कारण, एलर्जीको कारण, क्यान्सरको कारण, र चोटपटकको कारणले निस्कने विभिन्न रोगहरू हुन सक्छ । साथै खानामा पौष्टिक तत्त्वको कमीले पनि छालामा रोगहरू आउने सम्भावना हुन्छ । हर्मोनका कारण पनि यो रोग हुने गर्दछ । साथै भित्री अङ्गहरूको खराबीको कारण पनि छालामा समस्या देखिन सक्छ ।  जस्तै कलेजोको विकारका कारण र सुगर थैराइडका कारण पनि छाला रोग हुने गरेको पाइन्छ । त्यसैले छालामा रोग हुनुको कारण भनेको छालाको भित्री र बाहिरी अङ्गको विभिन्न खराबी र विभिन्न चेकजाँच नगरेका औषधिको जथाभाबी प्रयोगका कारण पनि यो समस्या आउने देखिन्छ । छालाका रोगहरू निको हुने र नहुने दीर्घकालीन समस्या हुने भएकाले छालालाई ध्यान दिनु अति नै आवश्यक छ ।

छाला रोग अन्तर्गत पर्ने लुतो भनेको के हो ?

लुतो भनेको अत्यन्तै चिलाउने एक प्रकारको छालाको बिमारी हो ।  सार्काेप्टिस स्क्याबीनामको जीवाणुका कारण लुतो लाग्छ। तुलनात्मक रूपमा कम सरसफाई हुने भएकोल यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्छ । तर, ननुहाउने, समय समयमा लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्छ। सार्कोप्टिस स्क्याबीजीवाणु मानव शरीरका न्यानो भाग– जस्तै, औंलाको काप, काखी, काछ, जननेन्द्रिय वरिपरिका छालामुनि डेरा जमाएर तातो रगत चुस्न मन पराउँछ। अध्ययनहरू अनुसार संसारमा करिब ३० करोड मानिसलाई हरेक वर्ष लुतो हुने गरेको पाइन्छ ।  यसलाई अङ्ग्रेजीमा स्केबिज भनिन्छ । यो एक जनाबाट अर्को व्यक्तिमा सजिलै सर्ने रोग हो । जो मान्छे नुहाउँदैन, समूहमा गुम्सिएर बस्छ, सरसफाइमा ध्यान दिँदैन उसलाई लुतो हुने गर्दछ । जब शरीर तातिन थाल्छ र आरामको अवस्थामा हुन्छ, त्यस्तो बेलामा शरीर चिलाउन थाल्छ। लुतो हुनेलाई रातको समयमा धेरै नै चिलाउँछ। लुतोको जीवाणुलाई सूक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिन्छ। पोथी सार्काेप्टिस स्क्याबीले छालाको बाह्य सतहमै ३० देखि ४० वटा फुल पार्छ। त्यो फुल छालामुनिको सूक्ष्म प्वालहरूमा एक हप्तामै विकसितभई वयस्क हुन्छन्।

लुतो लागेको छ भने कति दिनमा थाहा हुन्छ ? 

यदि पहिलो पटक लुतो भएको छ भने लुतोको कीटाणु सरेको ४ देखि ६ हप्ता पछि लक्षण देखिन थाल्छ । पहिले नै भैसकेको छ भने केही दिनमा लक्षण देखिन थाल्छ । पूर्ण रूपमा लुतो निको हुन सामान्यतया करिब ३ देखि ४ हप्ता लाग्छ ।

लुतोका बिरामी कुन अवस्थामा अस्पताल आउने गरेको पाउनु भएको छ ?

लुतोका बिरामी दुई प्रकारका हुन्छन्, जो व्यक्तिहरूमा लुतो लगेको छ उनीहरूमा बेसरी चिलाउने भए पनि त्यसलाई बेवास्ता गर्ने र मेडिकलबाटै औषधि प्रयोग गर्ने र निको नभएपछि अन्तिममा हस्पिटल आउने एक थरी बिरामी रहेका हुन्छन् भने अर्को थरी बिरामी भने सामान्य चिलाउन लाग्दै हस्पिटल आउने गरेको पाइन्छ । गुप्ताङ्ग तिर लुतो आएको छ तर उनीहरूलाई डाक्टरलाई देखाउन लाज लाग्छ तर पछि धेरै पीडा भएपछि आउने गरेको धेरै बिरामी देखेको छु । 

लुतो रोगको उपचार कसरी गरिन्छ ?

लुतोको उपचार सुरुवाती अवस्थामा निकै सहज र सरल छ । लगाउने औषधी गामा बेन्जिन, हेक्जा क्लोराइड  वा पर्मेथ्रिनको प्रयोगले यो पूर्ण रूपमा निको हुन्छ ।  औषधि राती सुत्ने बेलामा लगाएर सुत्ने र भोलि बिहान राम्रो सँग नुहाउने र लुगाहरू सबै धुनु पर्दछ । लगाउने औषधि १ हप्ता पछि फेरी लगाउनु पर्ने हुन्छ र खाने औषधि आइवार्मेक्तिने  पाइन्छ र यो पनि हप्तामा एक पटक दुई हप्ता खानु पर्दछ । घरमा सबै जनाको उपचार गर्नु पर्दछ । 

के यो लुतो रोग वंशाणुगत रोग हो ? 

नाइँ हैन, यसलाई वंशाणुगतरुपमा आउने रोग हैन यो वातावरण प्रदूषण, धेरै व्यक्तिहरूसँग सम्पर्कमा आउँदा र व्यक्तिगत सरसफाइको कमीका कारणले लाग्ने गर्दछ ।

लुतो रोग कसरी व्यक्तिमा सर्ने गर्दछ ?

लुतो लागेको मान्छेको छालाबाट अर्को मान्छेको छालामा यो सिधै सर्छ । तर, सामान्यतया हात मिलाउँदा सर्दछ।  यो लुगा, पानी वा पौडी पुलबाट सर्ने सम्भावना बढिनै रहने हुन्छ । रोगी व्यक्तिहरूको सरसामनहरु प्रयोग गर्दा, सँगै सुत्दा र प्रत्यक्ष रूपमा सम्पर्कमा आउँदा यो रोग सर्दछ । घरमा सबै जनाको उपचार गर्दा राम्रो हुन्छ भने आफू सँग बस्ने अरू कोही छ भने उसको पनि उपचार गर्नु पर्दछ ।

लुतो रोगका लक्षणहरू के के हुन् ?

लुतोको मुख्य लक्षण शरीरको विभिन्न भाग चिलाउनु हो । शरीरका विभिन्न भागमा स–साना राता राता बिबिरा जस्तो घाउहरू वा पानी भरिएको जस्तो साना साना फोकाहरू वा साना साना गाँठाहरू आउँछ । यस्ता घाउ धेरै कन्याएर पाक्ने सम्भावना हुन्छ । रातको समयमा धेरै चिलाउने र गर्मी दिनहरूमा समेत बेसरी चिलाउने लक्षणहरू रहेका हुन्छन् ।

लुतो रोगबाट बच्ने उपायहरू के के हुन सक्छन् ?

व्यक्तिगत सरमानहरूको प्रयोग गर्ने ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने र वातावरणलाई सफासुघर राख्ने ।

लुतो लागेका मानिससँग लसपस नगर्ने ।

रोगीलाई छुट्टै ओछ्यानमा सुताउने ।

रोगीको उपचार गर्ने ।

रोगीले प्रत्येक दिन नुहाएपछि धोएको सफा कपडा लगाउने ।

भिडभाड हुने ठाँउहरुमा नजाने सकेसम्म ।

दिनको १ पटक शरीर मिचेर नुहाउनु पर्छ । 

डक्टरको सल्लाह बमोजिम औषधि खानु पर्छ । 

परिवारमा सबैलाई लुतो आएको छ कि छैन चेक गर्नुपर्ने हुन्छ, यदि भएको छ भने सो व्यक्तिलाई पनि उपचार गर्नुपर्ने हुन्छ ।

नेपालमा लुतो रोगको अवस्था कस्तो रहेको छ ? 

त्यस्तो सरकारी तथ्याङ्कहरू त राज्यबाटै सङ्कलन भएका छैन तर पनि २०७२ को भूकम्पमा भने नेपालमा लुतोका बिमारी धेरै बढेको थियो । लुतो बढ्नुको कारण भनेको एक त सबै प्रकारका मानिसहरूसँग नजिक हुनुपर्ने । एकै ठाउँमा धेरै मानिसहरूसँग बस्नुपर्ने कारण र वातावरण प्रदूषणको कारण नेपालमा लुतोको सङ्ख्या बढेको थियो । हाल अहिले भने लुतोको बिरामी कमै मात्रामा देखिने गरेको पाइन्छ । यो हुनुको कारण कोरोना भाइरसले गर्दा हो । किन भने सामाजिक दुरी हुने र धेरै भिडभाड नहुने भएकोले छाला सम्बन्धी रोगहरू पहिलाको तुलनामा कमी आएको देख्न सकिन्छ । 

लुतो रोगका बारेमा अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

कुनै पनि रोगहरू सामान्य प्रकृतिका हुँदैनन् । त्यसैले कुनै पनि रोगहरूलाई दबाएर राख्नु हुँदैन । यसले व्यक्तिलाई त समस्या हुन्छ नै त्यसको असर पुरै परिवारलाई समेत पर्दछ । त्यसैले छाला सम्बन्धी रोगहरू होस् या त लुतो रोगहरू हुन् समयमै जँचाउनु पर्छ । लुतो भएपछि धेरै नै चिलाउने भएकोले नङको विष लाग्ने हुन्छ र जसले गर्दा रोगको प्रकृति जटिल हुन जान्छ । सामान्य रोग भनेर नजरअन्दाज गर्नु हुँदैन छाला सम्बन्धी सामान्य लक्षण देखिन साथ सम्बन्धित चिकित्सक कहाँ गई परामर्श गरी आवश्यक परेमा औषधिको प्रयोग गर्नुपर्दछ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४६ बजे