‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कसरी तयारी गर्ने चुनावी कार्यकर्ता सम्बन्धी नीति ?

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशन गरिसकेको छ । अन्य कुनै पनि बाधा व्यवधान परेन भने २०७९ साल वैशाख ३० गते ७५३ वटा स्थानीय तहको निर्वाचन हुनेछ । नेपालमा निर्वाचन आयोगले ६३ औँ निर्वाचन दिवस मनाई सकेको छ । यो त्रिसट्ठी वर्षमा जनताको प्रत्यक्ष निर्वाचन भएका कुनै पनि सरकार र दलहरूले पुरै पाँच वर्ष टिकाएको इतिहास पढ्न अझै पनि नेपाली जनताले भविष्यका निर्वाचनहरू नै पर्खनुपर्ने भएको छ । पहिलो आम निर्वाचन २०१५ साल फाल्गुण ७ गते भएकोले त्यसलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाएको छ । यो हाम्रो लागि खुसीको विषय हुन सक्तछ । 

यो दिवस संसारलाई देखाउन काम लागे पनि स्थायी सरकार दिन भने नेपालका राजनीतिज्ञ र सरकार प्रमुख भने चुकेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि कानुनमा उपयुक्त छिद्र नपाएर मात्र स्थानीय तहमा पुरै पाँच वर्ष टिकेको सहजै अनुमान गर्न धेरैलाई गाह्रो छैन । यदि त्यो अवसर हुँदो हो त आधाभन्दा धेरै स्थानीय तह खाली हुने थिए । धेरै अवसरवादीहरूले चुनावपछि काँचुली फेरेका घटनाहरू नौला र नयाँ भने होइनन् । यसमा अवसरवादीको भन्दा पनि टिकट वितरण गर्ने नेतृत्वको दोष छ । अझ टिकट लिने र दिनेको व्यापारिक कारोबारका घटना पनि छताछुल्ल थिए । ती नदोहोरिउन् भन्ने जनअपेक्षालाई सम्बन्धित ठाउँले बुझ्नु जरुरी छ । राजनीतिक क्षेत्र व्यापार नभएर सेवाको क्षेत्र हो र यसको प्राकृतिक गुणमा मिसावट हुनु हुन्न भन्ने लेखकीय माग जोडदार रूपमा सबैतिरबाट उठ्नु पर्दछ । 

नेपालका राजनीतिक दलहरूले दलीय व्यवस्था स्थापनामा अत्यन्तै कठिन भन्दा कठिन सङ्घर्ष गरेर पनि दलीयता अनुसारको आचरण र व्यवहार गर्न चुकेको देखिन्छ । निर्वाचित भएपछि त उनीहरूमा कुन मनोविज्ञानले काम गर्दछ थाहा छैन तर निर्वाचित भएपछिको अहमताको भूतले कसैलाई पनि छोडेको छैन भन्दा अत्युक्ति नहोला । निर्वाचनलाई विजयमा पु¥याउने नेता कार्यकर्ता र जनतालाई नै  दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने प्रचलन रहेको छ । २०४८ सालको आम निर्वाचन जितेपछि चर्चित झापाली एक नेताले “लाल बुझक्कडहरू, मैले चुनाव जितेँ, हिजोसम्म चुनाव हार्ने डरले बोलिनँ, अव तिमीहरूलाई एक एक कारवाही गर्ने छु” भनेर मञ्चबाट घोषणा गरे । उनले कार्यवाही गरेका म जस्ता भुईँ मानिसहरू आज पनि भुईँ मानिसको रूपमा रहेको यथार्थतालाई हरेक निर्वाचनले स्मरण गराई रहन्छ । जसलाई जनताले असीम माया र सम्मान गरे, कठोर तपस्याबाट लामो भूमिगतकाको गर्भबाट उत्पन्न भए ती जहाँको त्यहीँ छन् तर २०४६ पछि जन्मिएकाहरू जसले निर्वाचन जिते तिनको दिनचर्या, आर्थिक हैसियत, चालढाल र व्यवहार आम्दानी खर्चले महान् भाग्यशाली बनाएको आभास वर्तमानको यथार्थ हो । 

आजसम्म दलहरूले पाँच वर्षे स्थायी सरकार दिन नसक्नुका पछाडि लुकेको यथार्थ पनि यही हो । हरेक अवसर पछाडि हामीको ठाउँमा म अनि राम्रोको ठाउँमा हाम्रोले काम गर्नाले नै नेपाली राजनीति कहिल्यै पनि भ्यागुते दौडबाट माथि उठ्नै सकेन । अब भाग्यलाई सरापेर जनताले महाभाग्यलाई सधैँभरि  धरापमा राख्न चाहँदैनन् । यसको सही व्यवस्थापन नगर्ने हो भने एकपछि अर्को विद्रोहको शृङ्खलाबाट नेपालका दलहरू कहिल्यै पनि मुक्त हुन सक्ने छैनन् । व्यक्तिको विशिष्टता हुन सक्नेछ तर सिङ्गल सर्वोच्चताको अहमता कसैले पनि नपाले हुन्छ । त्यसैले यस पटक दलहरूले उम्मेद्वारहरुको चयन गर्दा ‘हाम्रा होइन राम्रा’मा ध्यान दिनु जरुरी छ । 

२०७४ मा टिकट पाएर चुनाव जित्नेहरूको चुनावी जोड घटाउको दौडले दलीय आचरणलाई धोती लगाई रहेको अनुभूति गर्न सकिन्छ । गाउँ–गाउँमा गुट यात्राको रिले रेस सुरु भएको छ । उनीहरूले जसरी एउटा टिनेजरले आमाको महत्त्वलाई बुझ्न सक्तैन त्यस्तै टिकट दिने पार्टीलाई महत्त्व दिने त परै जाओस् पार्टीको ‘प’ उच्चारणमा पनि छि छि दुरदुरको अवस्था देखिनेसम्मका खेल सुरु भएका सहज अनुमान गर्न सकिन्छ । पार्टीका मुनी व्यक्ति हुनुपर्नेमा व्यक्तिका तजबिजमा परेका पार्टी नीतिकै कारण स्थायी सरकारको अभाव, व्यक्तिमा असमता, व्यक्ति धनी राज्य र सङ्घसंस्था कङ्गाल बनेका हुन् । उही यात्राका सारथिहरूमा कोही धनपति भए भने कोही निरीहतामा बाँचेका छन् । यो विभेदको परिपाटिलाई उमेद्वारको तय गर्ने निकायले केही विधि र नीतिहरू तय गरेन र यथार्थतालाई बिर्सियो भने विद्रोहको सम्भावनालाई नकार्न सकिँदैन । 

नीति र विधिको लागि निम्न मापदण्डहरू लागू गर्नुपर्दछ :– 

१) हरेक उम्मेदवार पार्टी र कार्यकर्ताले रुचाएको हुनुपर्दछ । 

२) जुन पदको लागि उम्मेदवार बनाउने हो त्यो पदको लागि सक्षम, जनपरिचालन गर्न सक्ने, आम जनपत्यारिलो हुनुपर्दछ । 

३) पार्टी नीति, सिद्धान्त र अनुशासनमा प्रतिबद्ध हुनुपर्दछ । 

४) भ्रष्टाचारमुक्त र भविष्यमा पनि नगर्ने प्रतिबद्धता जाहेर गरेको हुनुपर्दछ ।

५) उम्मेदवार बन्न खोजेको निकाय वा क्षेत्रमा के कति खटेको, योगदान गरेको हो भन्ने कुराको मूल्याङ्कन हुनुपर्दछ । 

५) जुन तहको अनुभव हासिल गरेको हो त्यो अनुभवलाई पनि आधार मानेर मात्र उम्मेदवार बनाउनु पर्दछ । जस्तै वडा सदस्यपछि वडाध्यक्ष र वडाध्यक्षपछि प्रमुख उप–प्रमुखको तय गर्ने गर्नुपर्दछ । राजनीतिमा पनि क्रमबद्धता र प्रकृतिमय पद्धति अवलम्बन गर्नुपर्दछ । 

६) अनुभवहीन र स्तरहीनलाई पावर र पहुँचको भरमा टिकट दिने परिपाटिको अन्त्य हुनुपर्दछ । 

७) उम्मेदवार किन र के का लागि बन्न खोजेको हो ? विजय पश्चात् के के गर्ने फरक र नयाँ योजनाहरू रहेका छन् ? पाँच वर्षपछि त्यो पदमा पुगेर जनता, पार्टी र देशमा के के परिवर्तन हुने छन् । रोजगार वृद्धिको योजना के हो ? संस्था र देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ? जीवन शैली आचरणमा पदीय गरिमा कायम राख्ने प्रतिबद्धता के हो ? कि पार्टीमा लामो समयदेखि लागेको मात्र आधारमा भागबन्डामा जागिरका लागि जान खोजेको हो ? अनुभवसहितको कार्य योजनाको माग गर्ने र पार्टीभित्रको गुटगत सिन्डिकेटको समेत अन्त्य गरिनुपर्दछ ।

 

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ११ बजे