दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

लुम्बिनीका तीन जिल्लामा १२औँ चरणमा हात्तीपाइलेको औषधि खुवाइँदै 

दाङ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । 

सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका जिल्लाको पहिचान गरी आगामी २८ गतेदेखि औषधि सेवन अभियान सुरु गर्ने भएको छ । 

स्वास्थ्य कार्यालय दाङले विगत ११ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदै आएको जनाएको छ । 

दाङसहित बाँके र कपिलवस्तु अझै पनि जोखिममा परेकाले बाह्रौँ पटक आम औषधी सेवन अभियान सञ्चालन गर्नु परेको कार्यालयको भनाई छ । 

कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले नागरिकको लापरबाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको बताउनुभयो ।

यस पटकबाट मानिसको उचाइ अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान सञ्चालन हुने बताउनुभयो । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उहाँले बताउनुभयो ।

सन् २०३०सम्म जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रूपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उहाँको भनाई थियो ।

जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरू तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले  मात्रै औषधी सेवन गरेको पाइएको छ ।

यस पटक पनि जिल्लाको सिसहनियामा ३१४ जनामा परीक्षण गर्दा  १५ जना अर्थात् ४।७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जना अर्थात् ३।३ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तीमा २ प्रतिशतभन्दा कम गर्नु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताउनुभयो ।

नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । 

यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदाय स्तरमा सङ्क्रमण नरहेको पाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदाय स्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदाय स्तरमा फैलिइसकेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलाली लगायतका जिल्लामा यस अघिदेखि नै समुदाय स्तरमा हात्तीपाइले सङ्क्रमण यथावत् रहेको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २८ बजे