साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यो धर्ती तिम्रो पनि हो ! 

अहा तिम्रो सृष्टि कति महत्त्वपूर्ण र अपरिहार्य छ

तिम्रो करुणाले मानवता अडेको छ 

तिम्रो परिश्रमले संसारमा उज्यालो छरेको छ

उज्यालो छर्दैछौ कहिले परिवारको बत्ती बनेर 

समाजको राँको भएर अनि तिम्रो क्षमता छ 

संसार उज्यालो बनाउने चन्द्रमा र सूर्य जस्तै बनेर

त्यसैले त तिम्रो चाहना र रोजाइविना तिम्रो सृष्टि रचिएको छ !

कल्पना गर्न पनि सकिँदैन तिमीविनाको परिवार अनि संसार 

तर कुण्ठित भएका छन् तिम्रो क्षमता अनि बौद्धिकता अपार

तिम्रो महत्त्व नबुझ्नेहरू तिम्रो आगमनमै निराश हुन सक्दछन्

तिमीलाई पक्षपात र लगाम लगाउन सक्दछन्

तिम्रो कलिलो दिमागमा आफ्नो महत्त्व बुझ्नै नसक्ने गरी भयको बीउ रोपिदिन सक्दछन् !

तिमीलाई नबुझ्नेहरू कानून र संस्कारका घेराभित्र सीमित पारिदिन सक्दछन्

 

प्रकृतिले तिम्रो अपार महत्वका साथ सिर्जना गरेकोछ

तर तिम्रो महत्त्व बुझ्न नसक्नेको कुनै कमी छैन

तिम्रो रोजाइविना यो धर्तीमा आएको बुझिदिने कोही छैन

 

तिमी यो धर्तीमा टेक्दै गर्दा खुसी नहुन सक्छन् । 

हुर्कँदै गर्दा तिमीलाई पक्षपातको आभास आउन सक्छ

तिम्रा चाहना र आवश्यकताहरू निमोठिन सक्छन् ।

तिमी जन्मनुअघि नै तिम्रा लागि बनेका बन्देजहरू लागू हुन्छन् । 

तिमी निराश हुने भेदभाव पटक—पटक दोहोरिन्छन्

मुटु बलियो बनाइ रहे यो धर्ती तिम्रो पनि हो

अनुशासित भएर अघि बढी रहे अमूल्य मानव जीवन हो । 

तिमीले सुन्नु पर्नेछ पटक—पटक अवमूल्यनका  घटनाहरू

एसिडले जलाइएका  कथाहरू

बेचिएकी चेलीका व्यथाहरू 

युद्ध भूमिमा महिलालाई गरेका यौन शोषणका पीडाहरू

बलात्कार गरिएका बालिकाका चित्कारहरू

चित्कार गर्दै  जीवन अन्त्य पारिएका आमाका रोदनहरू

तर पनि भयभीत नहुनू, न्यायका लागि एकजुट हुनू, यो धर्ती तिम्रो पनि हो 

सुन्नु पर्नेछ लोभी, क्रोधी, पूर्वाग्रही अहङ्कारीले सिकार बनाइएका घटनाहरू

दाइजोको निहुँमा जलाइएका युवतीहरू

दासता स्विकार्न बाध्य पारिएका महिलाहरू

शोषण र दुरुपयोगमा फसाइएका आमाहरू

तर पनि निराश नभई  मुटु बलियो बनाउनू यो धर्ती तिम्रो पनि हो 

किन कि यो सृष्टि तिमीले सिर्जेको हो । 

देख्नु पर्नेछ अन्धविश्वासले निम्त्याएका दुर्घटनाहरू

छाउपडी गोठको जोखिम भोगिरहेका नारीहरू

बोक्सीको निहुँमा यातना दिँदै  मृत्युवरण गरेका हजुरआमाहरू

गर्मी याममा पूरै शरीर छोपिएका नारीहरू

आफ्नो शरीरमा पनि अरूले अधिकार जमाएका घटनाहरू, 

विना कारण शरीर सिलाइएका संस्कारहरू

तर पनि दरो गरी धर्तीमा टेक्नू, किन कि यो धर्ती  तिम्रो पनि हो । 

भोग्न पर्न सक्छ धोका, घृणा र विश्वासघातको अवस्था पनि

छोड्न सक्छन् जीवनको पथको बीच बाटोमा साथ दिन्छु भन्नेहरूले पनि

नीलडाम र अङ्गभङ्ग हुने गरी यातना दिन सक्छन् स्नेहसाथ बाँच्ने वाचा गर्नेहरूले पनि

तिम्रो कलिलो र कमजोर शरीरलाई बलियाहरूले लडाउन सक्छन्

तिम्रा सन्तानसहित सडकमा पु¥याउन सक्छन् । 

न्यायको आवाज उठाउँदा मानसिक रोगी साबित गर्न प्रयत्न गर्छन् 

आफ्नै सन्तानलाई पनि टाढा र विरोधी बनाउन सक्छन्

अन्याय—अत्याचारको कहाली लाग्दो परिवेश भए तापनि 

 विकल्पको खोजी गर्दै बलियो हुनू 

कत्ति पनि भयभीत नहुनू, यो धर्ती तिम्रो पनि हो

किन कि प्रकृतिले तिमीलाई सिर्जेको हो !

तिम्रो चरित्र र नैतिकतालाई चिन्न नसक्नेहरू 

तिम्रो मानवीय कारुणिक भाव बुझ्न नसक्नेहरू

तिम्रो मेहनत र समर्पणमा बुझ पचाउनेहरू

तिमीलाई झुटा आरोप लगाउन सक्छन् 

असफलता र दुःखका कारण तिमीलाई बनाउन सक्छन्

घुँडा टेकाउन सक्छन्

घृणा, अपमान र आरोपले निराश नहुनू 

बलियो भएर आफ्नो स्याहार गर्दै अगाडि बढ्नू 

यो धर्ती तिम्रो पनि हो

किन कि प्रकृतिले तिमीलाई सिर्जना गरेको हो 

सृष्टि तिमीले सिर्जेको हो । 

मुटु बलियो बनाई रहे, यो धर्ती तिम्रो पनि हो ।

दरो खुट्टाले टेक्नू यो धर्ती तिम्रो पनि हो !

सज्जन, मानवतावादी दाजुभाइसँग हातेमालो गरी न्यायमा उभिनू ! 

सबै सुरक्षित हुने बीउ रोप्नू ! 

यो धर्ती तिम्रो पनि हो ! 

–हेलसिन्की, फिनल्यान्ड

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : ३४ बजे