‘एउटै नाउरको सिकार गर्न २३ लाख’

महानगर आवास : ३२ घर हस्तान्तरण

विराटनगर। एकैनासले लहरै घर निर्माण गरिएका छन् ।

इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ ।

सामूहिक बस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसङ्ख्यक मुसहर (ऋषिदेव) समुदायका मानिस छन् । ‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायका लागि विराटनगर महानगरपालिकाले बस्ती निमार्ण गरी समुदायमा हस्तान्तरण गरेको हो । स्थानीयवासीका अनुसार नयाँ घरमा सरेपछि अब सिङ्घीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पीर छैन ।

“नयाँ बस्तीमा सरेपछि त चैनको निद्रा पर्न थालेको छ”, स्थानीय कविता ऋषिदेवले भन्नुभयो, “छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पीर पनि अब हटेको छ ।” एक परिवारका लागि दुई सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर आफूहरूले प्राप्त गरेको ऋषिदेवले सुनाउनुभयो । विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलेको छ ।

लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिङ्घीयाको बाढीले घर बगाएपछि उहाँ निकै लामो समय दाताले दिएको पालमुनि ओतिनुभएको थियो । तर उहाँलाई अब न खोला न बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । “हाम्रो त दिन फिरेको छ । अहिले पक्की घरमा बस्न पाइएको छ”, उहाँले भन्नुभयो, “हामीजस्ता धेरै गरिबसँग अहिले आफ्नै घर छ ।” महानगरले घर बनाइदिएपछि बुढेसकालमा आफूलाई सन्तोष मिलेको लालसेले सुनाउनुभयो ।

कविता र लालसेजस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान्सँगै दैनिक ज्यालादारीमा श्रम गर्नुहुन्छ । दैनिक हुने कमाइले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभूत विद्यालयमा पढाउन सजिलो भएको छ । उहाँ भन्नुहुन्छ, “हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ, अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।”

महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालले भन्नुभयो, “घर नभएका विपन्न परिवारलाई लक्ष्य गरी ३२ घर निर्माण गरिएको छ । यसबाट सीमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणाअनुसार बसाल्न सकिएको छ ।”

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यका साथ आवास योजना अघि सारिएको बताउनुभयो । “खोला किनारका बस्ती हरेक वर्ष डुबेर हुने क्षति, तिनको व्यवस्थापनमा हुने ठूलो खर्च घटाउने उद्देश्यका साथ बस्ती योजना अघि सारेका छौँ । विराटनगर–१२ र अन्य वडामा पनि हामीले यस्तै योजना अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

बस्ती विकासमा महानगरपालिकासँग हेबिट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन् । भवन निर्माणको सबै खर्च हेबिट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको महाशखा प्रमुख दाहालले जानकारी दिनुभयो । निर्माण भएका संरचनामा एउटा भान्सा, दुईवटा कोठा र शौचालय भएका घर छन् । उहाँका अनुसार अब बस्तीमा सामुदायिक भवन र खानेपानीको नयाँ परियोजना सुरु गर्ने योजना छ । 

अहिले निर्माण भएको संरचनामा बसोबास गर्ने क्रृषिदेव समुदायका परिवारमा जनसङ्ख्या बढ्दै जाने हो भने यो संरचना तत्काललाई फाइदाजनक नै भए पनि कलान्तरमा उहाँहरु फेरि नदी किनार वा अन्य सार्वजनिक जग्गाकै भरमा आश्रय लिनुपर्ने समस्यालाई समाधान गर्न उनीहरूमा रोजगार र शिक्षामा पहुँच पु¥याउनु आवश्यक छ । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : २३ बजे