‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रिय सभा अध्यक्ष साहसिक खेलमा सहभागी

पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साहसिक खेल सुपरम्यान जीपलाइनमा सहभागी हुनुभएको छ। कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले कुस्मा बजार नजिक काली गण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गर्नुभएको हो।

हार्नेस जिपलाइन प्रालि कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ।काली गण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन १४ सय ८० मिटर लामो रहेको छ।

अध्यक्ष तिमिल्सिनाले सोही सुपरम्यान जीपलाइनबाट १४ सय ८० मिटर दूरीको रिपोर्टमा ल्यान्ड गर्नुभएको हो।जीपलाइन गरेपछि प्रतिक्रिया दिँदै उहाँले एकदमै रमाइलो र साहसिक अनुभव भएको बताउनुभयो।

आफ्नै ठाउँमा भएको साहसिक खेलको अनुभव र आनन्द लिँदा धेरै राम्रो हुन्छ, उहाँले भन्नुभयो, अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुने क्रम बढेको छ। एक पटक हार्नेस जीपलाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु।

सुपरम्यान जीपलाइनमा बालबच्चादेखि बृद्धबृद्धा सम्मको आकर्षण बढेको र पोखरालगायत देशभरबाट धेरै पर्यटकले आउने इच्छा राख्दै समय बुक गराउने गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले जानकारी दिनुभयो। ‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जीपलाइनमा कम डर लाग्ने भएकाले पनि आकर्षण बढेको छ, उहाँले भन्नुभयो। जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ।

नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन

यसैबीच अध्यक्ष तिमिल्सिनाले नेपालमै पहिलो पटक बनेको सिसाको पुल (स्काईब्रिज) उद्घाटन गर्नुभएको छ।
हार्नेस जीपलाईन प्रालि कुस्माले निर्माण गरेको स्काईब्रिज उद्घाटन गरेपछि अध्यक्ष तिमिल्सिनाले जीपलाइन शयर गर्नुभएको हो।
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न साहसिक खेलसँगै स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो। काली गण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देखिन्छ। पुलमा एकै पटक एक सय जना सम्मले स्काईब्रिज चढ्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको बताइएको छ।

हार्नेस प्रालिले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ।

कुश्मामा सुपरम्यान जीपलाइन नजिकै विश्वकै दोस्रो अग्लो बन्जी तथा अग्लो स्विङ रहेका छन्। त्यसैगरी लामा र अग्ला झोलुङ्गे पुलले पनि पर्वत आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

​​​​​​​

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : १२ बजे