भक्तपुरको पुनर्निर्माण : लागत स्टिमेट ३७ लाख, बन्यो २४ लाखमा

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान भुजू पाटीको पुनर्निर्माण सम्पन्न भएको हो । 

पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो । 

यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिए । 

पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उनले स्मरण गरे । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उनले बताए । 

नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए । 
भक्तपुर नगरपालिका( ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे । 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : १६ बजे