‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

झापा गोल्डकप : फुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा

झापा । संकटा क्लब काठमाडौं पाँचौं संस्करणको झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निणरयक बन्यो । उनले फोफोना फोडेको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रामक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो।

खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोष्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।

५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोष्ट नजिकैबाट बाहिरियो ।

यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।

आइतबारको खेलको म्याद अफ द म्याच विजेता टिम संकटाका फोफोना फोडे घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईले प्रतियोगिताभर गरेका छन् । ३० फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वाटर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वाटर फाइनलमा पुगेको हो । सातदोबाटोले जावला खेललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ०३ बजे