मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमसीसीको खरानीमा महासचिवको आगो : बैठकबाट माओवादी फेरी पनि भाग्याे

काठमाडौं । गत पुसमै आठौँ महाधिवेशन सम्पन्न गरेको  बताउने सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले अधिवेशन सकेको झण्डै तीन महिना हुनलाग्दा समेत  पार्टीमा  उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरू नछानेर अर्काे आठौँ आश्चर्य देखाइरहेको छ ।   

पार्टीको केन्द्रीय नेतृत्व र पदाधिकारी छान्न आयोजना हुने महाधिवेशनले त्यो काम समयमा त गर्नै सकेन त्यही कामका लागि ढाँकिएका दर्जनौ बैठक सारेर माओवादीले निरन्तर आफ्नो असक्षमता देखाइ नै रहेको छ ।  

 प्रमुख जिम्मेवारी कसैलाई पनि चयन नगरी चलिरहेको त्यही पार्टीमा पदिय लडाइ त चलिरहेकै थियो त्यसमाथि थप विवाद थपिएको छ त्यो हो ‘एमसीसी अनुमोदन’ ।  

पार्टीमा पदका लागि हानथाम मात्र चलिरहेपछि एकपछि अर्को बैठक सार्दै आइरहेको माओवादीमा  एमसीसीको विवाद थपिएपछि बैठक सार्ने ऋंखला नै चलिरहेको छ ।  एमसीसी विरुद्ध सडकमा कार्यकर्ता उतारेर गाईजात्रा झिकेको माओवादीले अन्तिम समयमा एमसीसी पास गरेर दुनियाँलाई चकित पारिदिएको थियो ।  

पदाधिकारी विहीन पार्टी र पार्टीको नीति विपरीत पास गरिएको एमसीसीको बहस झेल्न पार्टी अध्यक्ष तयार नहुँदा माओवादीको  बैठक सार्ने रणनीति विस्तारै ‘आदत’ बन्दै छ ।  

आज दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने तय भएको माओवादी केन्द्रको बैठक पनि अन्तिम समयमा त्यही नियति भोग्न बाध्य भयो अर्थात् स्थगित भयो ।

यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक अस्ति शुक्रबारदेखि सुरु भएको थियो । केन्द्रीय सदस्यको मनोनयन,पदाधिकारी चयन,पोलिटब्युरो र स्थायी कमिटी गठन,एमसीसीलगायतका विषय बैठकको कार्यसूचीमा थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमसीसी र समसामयिक राजनीतिबारे सम्बोधन गर्नुभएको थियो । माओवादीमा एमसीसी अनुमोदनलाई लिएर विवाद छ । अस्तिको बैठकमा प्रचण्डले एमसीसीको बचाउ गर्दा श्रेष्ठले भने आलोचना गर्नुभएको थियो । 

आजदेखि बैठक कार्यसूचीमा प्रवेश गर्ने भनिएको थियो,तर एकाएक स्थगित भएपछि माओवादीका केन्द्रीय सदस्य फेरी एक पटक जिल्लिएका छन् । 

यसअघि फागुन ८ र ९ गतेका लागि निर्धारित बैठक फागुन २० गते बस्ने गरी सारिएको थियो भने २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि धकेलिएको थियो ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन । महाधिवेशन लगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेर पुस २५ सम्मलाई बैठक स्थगित गरेको थियो । त्यसयता माओवादीले पटक–पटक बैठकको मिति तोक्ने र स्थगित गर्दै ‘रमिता’ देखाइरहेको छ ।

बैठकको अन्तिम समयमा माओवादीले आन्तरिक तयारी नपुगेको भन्दै आइरहेको छ । जसोतसो महाधिवेशन गरेको माओवादी भित्र पदाधिकारी अझ त्यसमा  पनि महासचिव बन्न हानथाप । 

महासचिवमा प्रचण्डका दुई विश्वासपात्र वर्षमान पुन र जनार्दन शर्माका साथै नेताहरू देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतको दाबी छ । जसमध्ये पुन र शर्माको बढी सम्भावना रहेको बताइएको छ । उनीहरू मध्ये कसैले पनि एकले अर्कोलाई  स्वीकार गर्ने अवस्था नै छैन । 

बरु चुनाव हुनुपर्ने तर सहमतिका लागि कोही तयार नहुँदा माओवादी भित्रको यो पद लोलुप महाभारतमा एमसीसी प्रकरण भित्र भित्र भुसको आगो दन्काउने बार्गेनिङ अस्त्र बनिरहेको छ । 

पार्टीका वरिष्ठ उपाध्यक्षमा निश्चितजस्तै ठानिएका नेता नारायणकाजी श्रेष्ठ नैतिकता नै बन्दकी राखेर पास गरिएको  त्यही एमसीसीको दन्किएको आगोको खरानीमा आफ्नो ‘राजनीतिक बार्गेनिङ’लाई मलजल गरिरहेको माओवादी स्रोत बताउछ । ‘नेता श्रेष्ठ यही निभेको खरानीमा आगो सल्काएर आफू पक्षीय कार्यकर्ताहरूलाई केन्द्रीय सदस्यमा थप्ने होडमा छन्’ । स्रोतले भन्यो । 
माओवादीको महाधिवेशनले १ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा अरू मनोनीत हुन बाँकी नै छन् ।  

पार्टीभित्र निरन्तर अन्तर्विरोध बढ्दै गइरहेपछि त्यसलार्ई छल्न निरन्तर बैठक सार्नु बाहेक अध्यक्ष प्रचण्डसँग अरू विकल्प नरहेको माओवादी स्रोतको दाबी छ ।
 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ३९ बजे