दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि स्थानीयवासी जुटेका छन् ।

 विसं २०४२ मा स्थापना भएको यो विद्यालयको विकास तथा स्तरोन्नतिका लागि देश विदेशमा रहेका बगरफाँटवासी जुटेका हुन् । कक्षा ७ सम्म पढाइ हुँदै आएको यो विद्यालयमा १०२ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय शैक्षिकस्तर वृद्धि तथा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेर अभियानलाई तीव्रता दिएको शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि अहिले देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, शुभचिन्तक तथा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र स्थानीयवासीबाट आर्थिक सङ्कलन अभियान सुरु गरिएको अभियानका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

स्थानीय युवा तथा विद्यालयका पूर्व विद्यार्थी पद्यम घिमिरेले विद्यालयको सर्वाङ्गीण विकासका लागि समुदायको साथ र सहयोग आवश्यकपर्ने भएकाले देशविदेशमा रहेका बगरफाँटवासीले आफ्नो गाउँको विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान सञ्चालन गरिएको  बताउनुभयो ।

विद्यालयको स्तरोन्नति र विकासका लागि हाल अमेरिकामा रहेका सन्देश कार्की र पोर्चुगलबाट भाइकुमार कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर कार्कीको स्मृतिमा कृष्ण कार्की स्मृति अक्षयकोषका लागि रु एक लाख ५० हजार प्रदान गर्नुभएको छ । कोषमा रकम वृद्धि गरी रु १० लाख पु¥याउने सन्देश कार्कीले घोषणा गर्नुभएको छ ।

त्यसैगरी स्थानीयवासी तथा समाजसेवी मीनबहादुर कार्कीले रु ५५ हजार ५५५, कृष्णबहादुर थापाले रु ५१ हजार १११, चित्रबहादुर रिजालले रु ५१ हजार १०५, चन्द्रबहादुर घिमिरेले रु ५१ हजार १०० विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुनले रु ४० हजार १०५ सहयोग प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । 

त्यसैगरी विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, स्थानीय विभिन्न सङ्घ संस्थाबाट गरी दश दिनको अवधिमा रु ३० लाख भन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको छ । सङ्कलित रकमबाट विद्यालयको भौतिक विकाससँगै बालमैत्री किन्डरगार्डेन सञ्चालन गर्ने अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने, माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्ने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठनपाठन गराउने, शैक्षिक कार्यमूलक अनुसन्धान सञ्चालन गर्ने, व्यवहारिक पठन पाठनसम्बन्धी विविधकार्य सञ्चालन गर्ने,  गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई तालिम प्रदान गराउने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठनपाठन गराउने उद्देश्य रहेको अभियन्ता पदम घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी विद्यालयमा अध्यापनरत चारजना निजी स्रोतका शिक्षक शिक्षिकाको लागि वार्षिक रु १५ लाख ८३ हजार ७२० आवश्यक पर्नुका साथै शैक्षिक कार्यक्रम विस्तारका लागि रु चार लाख १० हजार गरी कूल १९ लाख ९३ हजार ७२० वार्षिक खर्च जुटाउनुपर्ने देखिएको संयोजक थापाले उल्लेख गर्नुभयो । 

 हाल विद्यालयको आन्तरिक आम्दानी वार्षिक रु २६ हजार मात्र रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १२ : २४ बजे