डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला 

नवलपुर । नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । 

कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताउनुभयो । 

“सामुदायिक वनको बेलघारी सोराहामा निहुरो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भन्नुभयो, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताउनुभयो । 

यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ४१ बजे