धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

झापा ।   गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।  

उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ । खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेकाे छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापामार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् । 

महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

‘उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ,’ उनी भन्छन्, ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।’ विगतमा चारवटा सहकारी आबद्ध थिए । तर, गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा बाँकी दुई सहकारी भने सूचीकृत हुन नमानेको उनी बताउँछन् । 

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए । ‘नजिकैका किसानले हाम्रो स्टोर घरमै ल्याउनुहुन्छ ।

टाढाका किसानको घरघरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ,’ उनले भने, ‘पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।’ मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ । तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । ‘धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ । हामीले धान बेच्न नपाएसम्म कसरी दिने ?,’ व्यवस्थापक ढुंगाना भन्छन्, ‘सरकारले हामीले संकलन गरेको धान खरिद गरिदिए धेरै सजिलो हुने थियो ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १२ : ४९ बजे