‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रसङ्घको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍यो, भारत र चीनसहित ३४ मुलुक तटस्थ

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।

रुस–युक्रेन युद्ध जारी रहेका बेला बुधवार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

राष्ट्रसङ्घमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । 

यसअघि राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्मा नेपाल छैन । सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन् ।

राष्ट्रसङ्घमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । 

त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : ५३ बजे