व्याख्यात्मक घोषणा नेता सुत्‍ने  ‘न्यानो थाङ्नो’ बाहेक केही होइन : झलनाथ

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का  सम्मानित नेता तथा पूर्व–प्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको  नेताहरूलाई आनन्दले सुत्न बनाइएको  ‘न्यानो थाङ्नो’ भएको टिप्पणी गर्नुभएको छ । 

 बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले २७५ सांसदलाई हेरेको हेरेकै पारेर एमसीसी जबरजस्ती पास गरिएको आरोप लगाउनुभयो ।  

यसरी जबरजस्ती एमसिसी पास गर्नु नेपालको इतिहासमै दुःखद लज्जाजनक रहेको पनि उहाँले बताउनुभयो। ’न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेरेकै पारेर जबरजस्ती माथिबाट पेलेर एमसिसी पास गरियो’उहाँले भन्नुभयो । 

‘एमसिसी संसदबाट पास गर्दासमेत प्रक्रिया नपुगेको खनालले बताउनुभयो । ‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदनभर नै छलफल गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘छलफल भएन भने अर्को सदनमा फेरि पेश गर्नुपर्ने हुन्छ।’ प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधबीच सरकारले फागुन १५ गते संसद्‍बाट एमसिसी अनुमोदन गरेको थियो।  

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : २२ बजे