प्रचण्ड जी लटरपटर कुरा हैन, सरकार छाड्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई सुझाव दिनुभयो । ‘कि त तपाईले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् । होइन भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिं राष्ट्रवाद भित्र चाहिं राष्ट्रघात गर्न पाईदैन’ उहाँले भन्नुभयो  ‘पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छौ । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

एमसीसी महत्वपूर्ण विषय भएको भन्दै भट्टराईले संसदमा उपस्थितको बहुमतले नभई संसदमा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्नुपर्ने बताउनुभयो ।  ‘संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पु¥याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ’ भट्टराईले भन्नुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ५२ बजे