साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गुण सिनेमा अब एक महिना कर्मको ‘कर्म’

काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिवारबाट गुण सिनेमा हल,ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा,संवाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् ।  

गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् । 

पहिलो दिनको विशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,निर्माता छविराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध विहारहरूको जीर्णोद्धार,संरक्षण तथा  सम्बद्र्धनमा लगाइनुका साथै विभिन्न समाजिक संस्थालाई प्रदान गरिने जानकारी दिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए । 

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजिक कार्यमा लगाइएको थियो । लुःज सिंहले खिचेको ‘कर्म’ को सह निर्माता दिप्रश शाक्य छन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको सङ्गीत रहेको फिल्मको सम्पादन र पार्श्व सङ्गीत सृजना बालकृष्ण वंशीले गरेका हुन् ।  

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ३९ बजे