जीवनमा सन्तुलनको निर्णयक महत्व रहेको छ । सन्तुलनमा नै जीवन छ । सन्तुलन गुम्यो कि जीवन रहेन । असन्तुलनबाट भएको दुर्घटनाका कारणबाट जीवन लीला हामी सबैले देखेकै छौँ । वास्तवमा जीवनलाई जीवन्त राख्ने सन्तुलन ले नै हो ।
यस्तो सन्तुलन दृष्टिकोण, चिन्तन, खानपान, पहिरन, पेशा, व्यवसाय, राजनीति, संस्कृति सबै क्षेत्रमा सधै अनिवार्य हुन्छ । बुद्धले यसलाई सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि भन्नुभएको छ ।
मानव जीवनका लागि आवश्यक पर्ने सन्तुलनका क्षेत्र अनेक छन् । हरेक क्षेत्र सन्तुलित हुनकालागि धेरै तरिकाहरू अवलम्बन गर्नपर्ने हुन्छ । अवलम्बनगर्न सम्बन्धित विषयमा जान्नुपर्ने हुन्छ । जान्नकालागि केहीगर्नैपर्ने हुन्छ । केहीगर्ने भनेको के त ? केही जान्ने कसरी त ? यस्ता विषय हाम्रो परम्परा र यसबाट निर्मित संस्कृतिले वहन गर्दै आएको छ । लेख्ने प्रविधिको विकास नहुँदाश्रुति (सुनाउँदै हिंड्ने) र स्मृति (सम्झने विधि) अवलम्बनगरेर पुर्खाले हामीलाई धेरै कुरा सिकाएका छन् । यिनलाई धर्म, चाडपर्व, विशेष आयोजनसँग जोडेर निरन्तरता दिन प्रयत्न गरेका रहेछन् र त आजहामीले यस्ता रमाइला दिनहरू मनाउन र जीवनमा मधुरता थप्न, जीवनलाई जीवन्तपार्न र सम्बन्ध विस्तार गर्ने अवसर पाइरहेका छौँ ।
रमाइलो सधै चाहिन्छ । मिठो खाना सधै रुच्दछ । मेलमिलाप सधै आवश्यक पर्दछ । तर मानिसका परिस्थिति सधै एकनासको हुँदैन । एकनासको नभएपछि आयोजनमा एकरूपता हुँदैन । त्यसैले, खास दिन निधो गरेर, निश्चित विधि निर्धारित गरेर हरेक वर्ष वर्षमा एकपटक मनाउने नियम बनाएर पुर्खाले हामीलाई हाम्रा ती आवश्यकतालाई निरन्तरता दिँदै आउनु वास्तवमै प्रशंसनीय र अनुकरणीय हो । यसले हामीलाई पनि आउँदो पुस्तालाई केहीदिन प्रेरित गर्दछ ।
हामीले मनाउने अनेक चाडपर्वहरू मध्येको पर्व होली यसैको एउटा निरन्तरताको उदाहरण हो । होलीलाई नेपालको पहाडी क्षेत्रमा फागु भनिन्छ । फागुनको पर्वभएकोले छोट्करीमा फागु भनिएको हुनुपर्दछ ।
होलीपर्व ‘होलिका’सँग जोडिएको पर्व हो । पुराणहरूमा वर्णन भएअनुसार ‘होलिका’महाप्रतापी दैत्यराज हिरण्यकशिपुकी बहिनी हुन् र भगवान विष्णुका भक्त प्रल्हाद की फुपू थिइन् । हिरण्यकश्यपु परम् शक्तिशाली, शक्तिका स्रोत ‘भगवान’ विष्णुको सत्रु थिए । उनका छोरा प्रल्हाद विष्णुका परम् भक्तथिए ।
शब्दसँग सृष्टि र विकासको अर्थ जोड्ने हो भने यस कथाका अनेक रोचक पक्ष उपस्थित हुन्छन् । तिनीहरूबारे लामो विश्लेषण यहाँ सम्भव छैन, तथापि दुईवटा नाम ‘विष्णु’ र ‘हिरण्यकशिपु’को मात्रचर्चा गर्दा पनि अध्ययनको अन्य पक्षहरू आफै देखा पर्दछन् ।
विष्णु समुद्रशायी अर्थात् समुद्रमा सुत्ने हुन् । समुद्र जलभण्डार हो । जल सृष्टि र जीवनको आधार हो । यो मणिमाणिक्य, रत्नादिको भण्डार हो । समुद्रपुत्री (समुद्रकी छोरी) लक्ष्मी विष्णुकी पत्नीहुन् । प्रश्न उठ्न सक्दछ — समुद्रका पनि सन्तान् हुन्छन् र रु यसरी बुझौँ, धर्तीलाई आमामानेर ‘धर्तीपुत्र’भनिएजस्तो होला । लक्ष्मी धनधान्य र ऐश्वर्य—समृद्धिकी अधिष्ठात्री (विभाग प्रमुखभन्दा माथिको ‘डिन’ जस्तो) हुन् । यतिबेलाको व्यावहारिक दृष्टिले यसरी विष्णुको शक्ति आँकलनगर्न र बुझ्न सकिएला । विष्णु शब्दको साधारण अर्थ व्यापकभन्ने हुन्छ । यसलाई विशेष रूपमा अथ्र्याउँदा शक्तिशाली वा शक्तिको प्रभाव सर्वत्र विस्तार भएको भनेर बुझ्न सकिन्छ ।
त्यस्तै, हिरण्यकशिपु पनि कम छैनन् । यिनी त्यस्ता शक्तिशाली विष्णुका मुख्य सत्रु हुन् । उनलाई दिनमा, रातमा, पानीमा, जमिनमा नमर्ने र देव, दानव, मानव, जनावर, पंक्षीले मार्न नसक्ने, हतियारले पनिमार्न नसक्ने ‘वरदान’प्राप्त थियो ।
उनको नामले नै उनको वैभव दर्शाउँछ । ‘हिरण्य’ भनेको सुन वाचलरनगद सम्पत्ति हो । ‘कशिपु’भनेको खाट वा पलंग भनेको हो । सुनको खाट भएका वा सुनको खाटमा सुत्ने व्यक्तित्व हुन् यिनी । वर्णन अनुसार उनको दरबारका खामाहरू सुनैसुनका थिए ।
हिरण्यकशिपुका छोरा प्रल्हाद विष्णुका भक्तथिए । उनी विष्णुसँग समन्वयका पक्षपाती थिए । हिरण्यकशिपुलाई यस्तो विचार मनपर्ने कुरै थिएन । उनी विष्णुसँग लडाइँ गरेर उनलाई हराएर एकछत्र शक्तिशाली बन्ने ध्याउन्नमा थिए । प्रल्हाद आफ्नै बाबुको विरुद्धमा भएपछि यो संघर्ष घरभित्रपनि हुने नै भयो ।
सत्ता र सम्पत्तिको लागिभएको यस संघर्षलाई दैवी र दानवीय शक्ति बीचको संघर्षको रूपमा चित्रण गरिएको छ । जसअनुसार हिरण्यकशिपुले प्रल्हादलाई पनि सिध्याउन अनेक प्रयत्नगर्न थाले । अनेक उपायमध्येको एउटा उपाय प्रल्हादलाई डढाएर मार्नु पनि थियो । तर कसरी ? हिरण्यकशिपुकी बहिनी होलिकासँग आगोले डढाउन नसक्ने पछ्यौरा थियो । त्यो पछ्यौरा ओढेर प्रल्हादलाई काखमा लिएर आगोमा बस्ने, आफु सुरक्षित हुने र प्रल्हाद खरानीहुने योजना बनाएका थिए । तर, उल्टो भयो । बतासले होलिकाको पछ्यौरा उडायो र उनी डढिन्, प्रल्हाद त्यही पछ्यौराले ढाकिएर बचे । पछि, हिरण्यकशिपुलाई पनि विष्णुले सन्ध्याकालमा नरसिंहको रूप लिएर, ढोकाको संघारमा नंग्राले च्यातेर मारे । कथा यस्तो छ ।
यसरी यस्ता दुई शक्तिको बीचको शक्तिसंघर्षको कथा यस होलीभनिने पर्वसँग जोडिएको छ । त्यसैले यसबारे विचार गर्दा विजयीको पक्षमा हामीले यो मनाउन सुरु गरिएको विजयोत्सव रहेछ भनेर बुझ्न सकिन्छ । हरेक वर्ष फागुनशुक्ल पूर्णिमामा होलिका दहन (बाल्ने) गर्ने र रंग खेलेर होलीमान्ने चलन छ । रंगसँग जीवनको रंग जोडिनुपर्दछ भन्ने सन्देश देखिन्छ । यसमा प्रयोग हुने सात रंगको सातै अर्थ लगाएको पाइन्छ । यी प्रतीकार्थ हुन् । सहकारीका प्रयोग गरिएको सात रंगमा पनि यो व्यक्त भएको पाइन्छ । तिहारमा लगाई टिकामा पनि यिनै रंगहरूको प्रयोग गरिएको हुन्छ ।
होलीपर्व विभिन्न नाम र रूपमा विश्वका अनेकौँ मुलुकहरूमा मनाउने प्रचलन रहेको भएतापनि नेपालमा यसलाई पृथक रूपमा मनाउने प्रचलन रहिआएको छ । केही प्रसंगहरू भारतमा मनाइने तरिकासँग मिलेको पाइन्छ । नेपाली र भारतीयहरू बसोवास गरेकाअन्य देशहरूमा यसलाई प्रायःएकरूपताकासाथ मनाइने गरेको पाइन्छ ।
शिशिर ऋतुबाट वसन्तऋतुमा पुगेको मौसम भएको हुनाले जाडोमा पहिरेर पुरानिएकाचीर (कपडा) डढाउने र ऋतु अनुकूल नयाँ–नयाँ लुगा लगाउने सन्देश पनि होलिका दहनबाट लिन सकिने अर्को महत्वपूर्ण विषय हो ।
यसका अनेकौँ प्रतीकार्थ छन् । यो जीवनको पक्षमार सन्तुलनको पक्षमा सन्देश दिने कथा हो । कसैको वरदानबाट प्राप्तभएको शक्तिको दुरुपयोग गर्न हुँदैन । बाहिरबाट प्राप्त शक्ति त्यति भरपर्दो हुँदैन । घरभित्र राम्रो समन्वय हुन सकेन र असन्तुष्टि झाँगिएभने जस्तै शक्तिशाली पनि अर्को बाहिरी शक्तिको शिकार बन्नु पर्ने हुन्छ । अरुलाई बिगार्न, भत्काउन, डढाउन प्रयोग गरिने शक्तिले सन्तुलनगुम्दा (असन्तुलितहुँदा) आफैलाई सिध्याउँछ । यस्तो सन्देश होली पर्वले दिन खोजेको देखिन्छ । विजय—पराजय र पक्ष—विपक्षको विषय सापेक्ष हुन्छ । तर, सन्देश भने शाश्वत देखिन्छ ।
यसमा विगतका सत्रुता त्यागेर नयाँ मित्रतापूर्ण जीवनको सुरु गर्ने पर्वको रूपमा पनि लिइन्छ । यी पक्षलाई गीत—संगीत सहितनाच्दै—गाउँदै घर घरमा गएर रंग दलेर सद्भावआदान—प्रदान गरिन्छ ।
अहिले जमाना फेरिएको छ । अब कोही प्रत्यक्ष विष्णु या हिरण्यकशिपु छैनन् । तर, अनेकौँ विष्णु र अनेकौँ हिरण्यकशिपु बनेका होलान् । नरसिंह पनि होलान् । अनेकौँ प्रल्हाद र होलिका होलान् । तिनको पहिचान गरेर घर घरबाट चोक चौराहमा ल्याएर डढाउन मिल्ने कुरा भएन । तर, यस्ता प्रवृत्तिको पहिचान गरी सके आफैले आफूभित्रका प्रवृत्तिमा सुधार गर्ने र यसो हुन नसक्दा, सक्नेले त्यस्ता प्रवृत्ति (व्यक्तिहोइन)का विरुद्ध सुधारको प्रयत्न गरी शान्त, सन्तुलित, समृद्ध र सुखी समाज निर्माण गर्न प्रयत्नशील रहनु पर्दछ । कथालाई जस्ताको तस्तै होइन, समय सापेक्ष ज्ञान, शिक्षा र प्रेरणाको विषय बनाउनु पर्दछ । यसका असल र ग्रहणीय सार लिँदै नयाँ सन्दर्भमा नयाँ ढंगले विकास गर्न आवश्यक हुन्छ । अन्धविश्वासलाई मलजलगर्ने हिसाबले नभई विज्ञानसम्मत संस्कृतिविकास गर्न आवश्यक छ ।
विगतका वैरभाव र असन्तुलित बोली वचन तथा व्यवहार त्यागी नयाँ बासन्ती विचारको विस्तार गर्न लागिपरौँ । वर्तमान राजनीतले पनि यसबाट शिक्षा लिन आवश्यक छ । होली पर्वको हार्दिक शुभकामना सबैलाई ///
प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार १२ : ५० बजे
प्रतिक्रिया