महाअभियोग लगाएर सभामुखलाई बर्खास्त गर्ने कांग्रेस–एमालेको तयारी

काठमाडौँ । सत्तारुढ दल काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने काँग्रेसले जनाएको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएपछि सभामुख सापकोटामाथि महाअभियोगको सम्भावना बढेको हो । 

कारबाहीमा परेका आफ्ना १४ सांसदलाई पदमुक्त नगरेर पदीय जिम्मेवारी र आचरण विपरीत काम गरेको भन्दै सभामुखलाई हटाउनुपर्ने माग गर्दै आएको एमालेले काँग्रेस र माओवादी केन्द्रसमक्ष सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । 

एमालेको प्रस्तावमा काँग्रेस सहमत भए पनि माओवादीले असहमति जनाएको छ । काँग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेरेर निर्णयमा पुग्ने जवाफ एमालेलाई दिएको छ । 

बिहीबार काँग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले कारबाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महाअभियोग लगाउने प्रस्ताव गरेका थिए । तर, काँग्रेस सभामुख सापकोटालाई महाअभियोग लगाउन तयार भएको छ ।  

सापकोटाले एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्तावलाई ध्वनि मतको आधारमा वा मतदानमार्फत कुन बाटो लैजान्छन् भन्ने हेरेर महाअभियोगको निर्णयमा पुग्ने काँग्रेसको तयारी छ । 

उसले “सभामुख सापकोटाको रवैया एक दुई दिन हेरौँ न” भनेर एमालेलाई जवाफ दिएको छ । मतदानमा लगेर एमसीसी असफल बनाए सभामुख सापकोटालाई महाअभियोग लगाउन काँग्रेस पनि तयार छ । 

सभामुख सापकोटाले एमसीसी माथिको सैद्धान्तिक छलफलको प्रस्तावलाई मतदानमा लैजाने बताएपछि बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । सैद्धान्तिक छलफल अनुमतिका लागि मतदानमा लगिएको नेपालको संसदीय इतिहासमा नरहेको र सभामुखले लैजान नहुने काँग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानबहादुर कार्कीले बताउनुभयो । एमसीसी माथिको सैद्धान्तिक छलफलको अनुमतिका लागि मतदानमा नलैजान सभामुख सापकोटालाई मन्त्री कार्कीले आग्रह गर्नुभयो।

काङ्ग्रेससँग १४ जना सांसद हटाउन वा सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेको एमालेले माओवादीसँग पनि सोही प्रस्ताव गरेको छ । 

बिहीबार संसद् भवनमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै दलका अन्य नेता पनि सहभागी थिए । सो क्रममा अध्यक्ष ओलीले सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरे । तर, अध्यक्ष प्रचण्डले अस्वीकार गरे । 

“छलफलमा एमालेले सभामुख हटाउनुपर्‍यो भनेर अडान लियो । तर, माओवादीले मानेन” प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो । सभामुख हटाउन काँग्रेस र एमाले सहमत भए पनि माओवादीले असहमति जनाएको छ । सम्भवतः आज बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले एउटा निर्णय लिने बुझिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : १६ बजे