एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्छ, उस्तै परे चुनाव घोषणा हुन्छ :  वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्ने बताउनुभएको छ ।

प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताउनुभयो । 

“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उहाँले भन्नुभयो ।
 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ४७ बजे