एमालेले संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने 

काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधिसभा आजको बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) माथिको छलफलमा भाग नलिने भएको छ । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने जानकारी दिनुभयो । 

“हामी आज पनि संसद् बैठकमा जान्छौँ, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौँ,” उहाँले भन्नुभयो । संसद्मा आफूहरूको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उहाँको भनाइ छ । 

आफूले कारबाही गरेका १४ जना सांसद संसद् बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ । आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताउनुभयो । 

एमालेले संसदीय प्रक्रियामा सहभागी नहुने रणनीति पहिले नै तय गरिसकेकाले आज संसद् बैठक बस्नुअघि पार्टीमा कुनै पनि छलफल नभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको थियो। 

 

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : ४९ बजे