एमसिसी सम्बन्धी प्रस्तावमाथि संसद्मा आजदेखि छलफल प्रारम्भ हुँदै

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता सम्बन्धी प्रस्तावमाथि संसद्मा आजदेखि छलफल प्रारम्भ हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार दिउँसो १ः०० बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुने छ ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ । 

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाउनुभएको छ । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २३ बजे