मलाई जनताको अपार माया र समर्थन छ त्यसैले मेरो मनोबल उच्च छ : केपी शर्मा ओली

‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनताको अपार माया, समर्थन र आर्शिवाद रहेकोले आफ्नो मनोबल उच्च रहेको बताउनुभएको छ । 

अध्यक्ष ओलीको जन्मदिनको अवसर पारेर आज भक्तपुरमा आयोजित समवेद दृष्टि नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि अध्यक्ष ओलीले कोही कसैले केही छिनका लागि तिकडम गरे भनेर आफू नआत्तिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘एक छिन कसैले छलछाम षडयन्त्र गर होला । एक छिन कसैले तिकडम गरे होला, केही गुटहरू मिल र जालझेलबाट एक पटक लडाए पनि होला तर मलाई र मेरो पार्टीलाई जनताको अपार माया,साथ र आर्शिवाद  छ हाम्रो मनोबल उच्च रहिरहन्छ ।’ 

उहाँले कोही सकैले तिकडम र छलछाम गरेर एक पटक लडाए भने त्यसलाई समग्र युद्ध हारेको रूपमा नबुझ्न आग्रह गर्नुभयाे। ‘एउटा मोर्चा हार हुँदैमा समग्र युद्धको हार हुँदैन’ ओलीको भनाई थियो । 

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले एमाले देश र जनताको निम्ति जन्मिएको र बनेको पार्टी भएकाले नै जनताले अपार  स्नेह र माया पाइरहेको बताउनुभयो । 

७१ वर्ष पुग्नुभएको ओलीले आफ्नो सम्पूर्ण बाँकी जिन्दगी मानवजाती र देशको हितमा प्रयोग गर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले जनताको अपार मायाकै कारण कुनै समय शासकबाट जेलमा हालेर फाँसीको माग गरिएपनि छुटेर बरु देश सञ्चालन गर्ने ठाउँमा पुगेको बताउनुभयो । मैले जनताबाट असाधारण सहयोग पाएको छु, म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया र सहयोगले जेलमुक्त भएँ, बिरामी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ, र अब जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’ उहाँले भन्नुभयाे, ‘जनता भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक लडाए भने पनि जीवन त सकिँदैन ।’

 ‘

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ४० बजे