भोलिको संसदमा एमसीसी छलफलमा जाने, अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने

काठमाडौं ।  प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छ । 

फागुन ८ गतेको बैठकमा टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि भोली छलफल गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गरियो ः भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । एमसीसी टेबल हुँदा भने शर्मा विरामी परेको भन्दै उपस्थित भएका थिएनन् । त्यतिबेला  सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रस्ताव पेश गरेका थिए । 

एक बजे बस्ने संसदको बैठकअघि विहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा एमसीसी सम्झौतालाई छलफलमा लाने कि नलाने, कसरी लाने भन्ने विषयमा सबै दलका सचेतकमार्फत सभामुखले सहमति खोज्नेछन् । 

फागुन १६ को समयसीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा सम्वाद अगाडि बढाउँदै त्यअगावै पारित गर्ने तयारी गरिरहेको छ ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ०९ बजे