हुम्लामा बिहानदेखि हिमपात

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ ।

यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट  उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ ।  सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । 

त्यस्तै  हिमपातका कारण  सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।” 
    
यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।

हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ”  रासस

    

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : ५५ बजे