साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम रोकियो

पर्वत । कोभिड–१९ को प्रकोपका कारण निषेधाज्ञा भए पनि निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माणकार्य रोकिएको छ । 

तनहुँबाट कास्की हुँदै निर्माण सामग्री आपूर्तिमा प्रहरीले अवरोध गरेपछि सडक कालोपत्र गर्ने काम प्रभावित भएको हो । कालोपत्रका लागि डिबिएसडी गिट्टी ढुवानी गर्न नसक्दा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । 

कास्की प्रहरीले पोखराको सिमपानीबाट निर्माण सामग्री ढुवानी गर्न सवारी साधनलाई जिल्ला प्रवेश गर्न नदिएपछि पर्वतबाट पठाएका टिपर पोखराको सिमपानीमा रोकिएका छन् । 

कालोपत्रका लागि चिप्स तनहुँको कोत्रेबाट ढुवानी हुँदै आएको छ । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजना र अन्य विकास योजनाको काम नरोक्ने जिल्ला प्रशासन कार्यालय पर्वतको निर्णयानुसार काम भइरहेको छ । 

पर्वतबाट अनुमति भए पनि कास्कीमा ढुवानी गर्ने साधनको चाबीसमेत ट्राफिक प्रहरीले खोसेको लामा कन्स्ट्रक्शन कम्पनीका प्रतिनिधि राजाराम आचार्यले गुनासो गर्नुभयो । 

“कास्की प्रहरीले पर्वतबाट टिपरलाई प्रवेश गर्न नदिएपछि कालोपत्रको काम रोक्नुपर्ने अवस्थामा पुग्यौँ”, आचार्यले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने भनिए पनि सहजीकरण नहुँदा अलपत्र पर्ने अवस्था आयो ।”

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारबाट मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम कम्पनीले गरिरहेको छ । वैशाख मसान्तसम्म ९० प्रतिशत काम सकिएको कम्पनीका प्रतिनिधि आचार्यले बताउनुभयो । 

अहिले पर्वतको कुश्माबजारमा दुई किलोमिटर र केही ठाउँमा छिटपुटरूपमा बाहेक सबै ठाउँमा कालोपत्र गर्ने काम सकिएको छ । मनसुन शुरु भएपछि कालोपत्र गर्ने काम प्रभावित हुने भएकाले जेठ महिनामै सक्ने लक्ष्यसहित काम भइरहेको छ । 

कालोपत्रका लागि अत्यावश्यक कच्चा पर्दाथ नै ढुवानी गर्न नपाएको अवस्थामा भने कामबाट हात झिक्नुको विकल्प नभएको कम्पनीका प्रतिनिधि आचार्यले बताउनुभयो । 

“काम गर्छुभन्दा पनि प्रहरीले सहजीकरण गर्नुपर्नेमा उल्टै अवरोध गर्ने काम भयो ।” उहाँले भन्नुभयो, “डिबिएसडी गिट्टी नै नभएपछि निर्माणको काम स्थगन गर्नुको विकल्प रहेन ।”

कास्की प्रहरीका प्रमुख जीवनकुमार श्रेष्ठ भने मध्यपहाडी लोकमार्ग, पोखरा विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजनाको काममा अवरोध गर्ने नीति नभएको बताउनुहुन्छ । 

उहाँले समन्वय नभएका कारणले रोकिएको भए सहजीकरण गरेर आयोजनाका लागि निर्माण सामग्री ढुवानीमा अवरोध नहुने स्पष्ट पार्नुभयो । “राष्ट्रिय गौरवको आयोजनाको कामलाई सहजीकरण गर्ने निर्णय भएको छ ।” उहाँले भन्नुभयो, “आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण गरेर काम अगाडि बढाउनुपर्छ, तर आयोजनाको कामका नाममा गलत फाइदा उठाउन भएन ।”

निषेधाज्ञा: कृषकलाई छैन बजारको समस्या
अघिल्लो वर्षको निषेधाज्ञाको अवधिमा करोडौँ मूल्यको तरकारी, फलफूल कुहाउन बाध्य भएका पर्वत कृषकले यस वर्ष भने राहत पाएका छन् । 

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको भए पनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानले बताएका छन् । 

गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानले बताएका हुन् । 

जिल्लाको जलजला गाउँपालिका–७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै तरकारी कुहिए पनि यस वर्ष भने कुनै समस्या नभएको जानकारी दिनुभयो । उहाँले ढुवानीका साधनलाई स्थानीय प्रशासनले आवातजावतमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको बताउनुभयो ।

जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ । स्थानीय कृषक नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा बिक्री नहुने समस्या हटेको बताउनुभयो । 

जिल्लाको मोदी गाउँपालिकामा उत्पादित तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा बिक्रीको समस्या नरहेको बताएका छन् ।

सहकारीका अध्यक्ष गङ्गा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र बिक्री वितरणमा सहयोग गर्दै आएको बताउनुभयो । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भए पनि कुश्मामा तरकारी बेच्दै आएका छन् । 

गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताले बजारको तरकारी किनेर नखाने समस्यासमेत थियो । यस वर्ष जिल्लाभर निषेधाज्ञा भए पनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानहरुले बताएका छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत गर्न थालिएकाले किसानलाई बजारको समस्या नभएको जानकारी दिनुभयो । उहाँले पोखरा, काठमाडौँ, चितवनतिरबाट आउने तरकारी नल्याउन व्यापारीलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताउनुभयो । 

अहिलेको सिजनमा पर्वतमा घिरौँला, काँक्रा, मुला, सिमी, गाँजर, करेला, जुकेनी, लौकालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । स्थानीय गोलभेँडाको भने बजारमा माग उच्च छ तर उत्पादन कम रहेको छ । पर्वतका किसानले कुश्माबजारबाहेक बागलुङ, म्याग्दी, पोखरा र मुस्ताङसम्म तरकारी बिक्री गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ४९ बजे