ओलीले गृहमन्त्रीलाई भन्नुभयो, एमसीसीका विषयमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनोस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिनुभएको छ । 

एमसीसीमा एमालेको समर्थन जुटाउन अध्यक्ष ओलीलाई भेट्न आज बिहान बालकोट पुग्नुभएका गृहमन्त्री खाँणलाई उहाँले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिनुभएको हो । 

“गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो” एमाले अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले भेटवार्ताबारे भन्नुभयो, “अध्यक्षज्यूले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।”

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदै छ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । 

सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् । 

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफलका लागि पठाउनुभएको हो। 

मङ्गलवार साँझ पनि अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । 

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ५९ बजे