‘एउटै नाउरको सिकार गर्न २३ लाख’

समृद्धिको बाधक : अकर्मण्यता र बेथिति

लामो समयदेखि नेपाली जनता राज्यको अकर्मण्यताको कारण गरिबी र कष्टपूर्ण जीवन गुजार्दै आएका छन् । राजनीति केवल शासन सत्ता हत्याउने चाल मात्र भएकै कारण राज्य जहिले पनि जनताप्रति अनुत्तरदायी रह्यो । केही अपवाद बाहेक भ्रष्टाचारलाई मलजल गर्ने कार्य कहिल्यै रोकिएन । नियम कानुन बनाउने दायित्व पाएकाहरूले आफ्नो सोख र सुविधाका लागि मात्र नियम बनाउन थाले । 

जनताप्रति उत्तरदायी हुनुपर्ने कुरा उनीहरूले बिर्सँदै गए ।  यसबाट जनताको अभिमतको दुरुपयोग मात्र भएन, जनताले आफ्नो भविष्यको आशा देशभित्र देख्न सकेनन् । आशाले नै जीवनलाई डोर्‍याइरहेको हुन्छ । आशामा कुठाराघात हुँदा भविष्यका सम्भावनाहरू प्रतिको प्रतिबद्धता गौण बन्न पुग्छन् । 

विज्ञान तथा प्रविधि पनि राज्यको प्राथमिकतामा सधैँ ओझेलमा परिरह्यो । यस क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो आशा गुमाउन पुगे । फलतः ठुलो वैज्ञानिक र विवेकी जमात विदेश पलायन हुन पुग्यो । यो प्रतिकूल अवस्थामा सुधार ल्याई नेपालले आफ्नो छवि तथा गौरव बढाउने दिशामा अग्रसर हुन नयाँ नेतृत्वलाई राम्रो अवसर प्रदान गरेको छ ।

आम राजनीतिज्ञहरूमा सामान्य वैज्ञानिक चेतना नहुँदा देश र जनताले ठुलो क्षति बेहोर्नुपर्छ । काठमाडौँ तथा देशका विभिन्न भागहरूमा फोहोर र प्रदूषणले जनजीवन आक्रान्त बन्दा पनि यसको स्थायी निराकरण हुन सकेको छैन । 

एउटा सकारात्मक राजनीतिक दृष्टिकोणले हेर्दा सडक धुल्याम्य हुनु भनेको अवसर पनि हो । धुलो नियन्त्रण गर्न सक्ने उपकरणहरूको प्रयोग गर्दा धेरैले रोजगारी पाउन सक्छन् । यस्ता अनेकौँ उपकरण स्थानीय स्तरमै बनाउनेतर्फ प्राविधिक सोच भएका युवाहरूलाई उत्साहित र परिचालित गर्न सकिन्छ । यसो गर्दा हाम्रो आफ्नै क्षमता पनि वृद्धि हुँदै जान्छ । हरेक समस्यालाई वैज्ञानिक ढङ्गले विश्लेषण गरी त्यसमा अवसर खोज्न सकिन्छ । 

अवसरहरू हामीले हाम्रो आफ्नै ठाउँमा खोज्ने हो । विदेशमा काम गर्दाको अनुभव होस् वा विदेशबाट ल्याइएका उपकरणहरू, गम्भीरतापूर्वक अध्ययन गरेर हामीले आफ्नो ठाउँ अनुकूल बनाउन र उपयोगमा ल्याउन सक्छौ। नव उदीयमान राष्ट्रहरू, जस्तै चीन तथा भारतले औद्योगिक विकासको सन्दर्भमा शून्यबाट कहिल्यै सोचेनन्, अरूका काम वा उपकरणलाई आधार मानी आफ्नो देश अनुकूल बनाए । यस समृद्धिको विज्ञान काममा उनीहरूले आफ्नो प्राविधिक जनशक्तिलाई परिचालन गरे । यो क्रम अझै जारी छ । 

हामी गरिब हुनुको कारण हामीले हाम्रा समस्याहरूलाई गम्भीरतापूर्वक हेर्न नसक्नु हो, आफू अनुकूल प्रविधिको विकास गर्न नसक्नु हो । हाम्रा समस्याहरूलाई हामीले चुनौतीका रूपमा लिई ‘यो म गर्न सक्छु’ भन्ने प्रतिबद्धता गर्न नसकेर हो । 

जनताको अपार अभिमतबाट चुनिँदा समेत हामी किन सामान्य काम पनि गर्न सक्दैनौँ ? के नोकरशाहीको काम क्रान्तिकारी विचारहरूलाई रोक्ने मात्रै हो ? हामी किन बेथिति र अभावको पुनरुक्ति मात्रै गर्छौँ ? सानोभन्दा सानो कामका लागि समेत अरूको मुख ताक्ने प्रवृत्तिले हामीलाई कसरी समृद्ध बनाउला ? यी यस्ता प्रश्नहरू हुन् जसको सम्बन्ध विज्ञान–प्रविधि तथा इन्नोभेसनसँग गाँसिएको छ । 

हामी इतिहासकै अत्यन्त अनुकूल समयमा आइपुगेका छौँ । नेपाली राजनीतिमा यति अनुकूल समय इतिहासमा कहिल्यै आएको थिएन र सायद भविष्यमा पनि यस्तै होला भन्न सकिँदैन । सरकारले चाहेको काम गर्न सक्ने अवस्था अहिले छ । हाम्रो पुस्ताले इन्नोभेसन सहितको विज्ञान तथा प्रविधिको उचित प्रयोग गरी यो विश्वलाई चिनाउन सक्छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ४० बजे